• १५ वैशाख २०८१, शनिबार

कमलको जरा खोज्नेको घुइँचो (फोटो फिचर)

blog

रुकुमकोट स्थित कमल दहमा कमलका जरा निकाल्नेको घुइँचो । तस्बिर: जयमान

जयमान बुढा मगर

रुकुम पूर्व, फागुन १८ गते । हरेक वर्ष माघको दोस्रो हप्ता देखि फागुनको तेस्रो हप्तासम्म कमलको जरा निकाल्ने समय मानिन्छ । यस वर्ष माघको २५ गतेबाट निकाल्न सुरु गरिएकोमा यही फागुन २५ गते सम्म कमलका जरा निकाल्ने अवधि तोकिएपछि जरा खोज्नेको घुइँचो लाग्ने गरेको छ ।

अहिले सिस्ने गाउँपालिका–५ रुकुमकोट स्थित कमल दहमा दैनिक ठुलो भीड छ । पछिल्ला केही वर्ष देशका विभिन्न ठाउँबाट यसको खोजीमा मान्छेहरू रुकुमकोट पुगिरहेका छन् । यो समय कमल दह हेर्नेहरू मात्रै होइन, अरू कामले पनि जम्मा हुनेको सङ्ख्या धेरै छ । पानीमा फुल्ने कमलको फूल हेर्दा जति सुन्दर हुन्छ, त्यसको फाइदा पनि त्यत्तिकै ।

कमलको जराको अचार स्वादिष्ट मानिन्छ । जरा ताछेर बनाइएका चाना (सुकुटी) पछिसम्म पनि अचारको रूपमा प्रयोग गर्न सकिन्छ । हाल दहमा कमलको जरा निकाल्ने, खरिद गर्ने र त्यो दृश्य हेर्नेको भीड बाक्लो हुने गरेको छ । तीन वर्ष देखि गत वर्ष सम्म सिस्ने गाउँपालिकाले टेन्डर मार्फत कमलको जरा निकाल्ने गरेको थियो । यस वर्ष भने कमल दह संरक्षण समितिलाई जिम्मा दिइएको छ । समितिले नै यो वर्ष कमलका जरा निकालिराखेको सिस्ने–५ का वडाध्यक्ष वीरेन्द्र बस्नेतले बताउनुभयो । 


जरा निकाल्न आउने प्रति पुरुषले पाँच सय र प्रति महिलाले दुई सय रुपैयाँ तिरेपछि दिनभर कमलको जरा निकाल्ने अनुमति दिइएको समितिले जनाको छ । जरा निकाल्न आउनेबाट लिएको शुल्कले कमल दह संरक्षण समितिले दह संरक्षणमा खर्च गर्ने जनाएको छ । जरा निकाल्नेहरू दैनिक २५ देखि ५० जना हाराहारीमा आउने गरेका छन् । 

जरा निकाल्नु जोखिम हुन्छ । दहभित्र पसेर कमलको जरा खुट्टाको सहायताले फेला पार्नुपर्छ । केही सेकेन्ड पानीभित्रै डुबेर जरा निकाल्ने गरिन्छ । पौडँदै छाम्ने र जरा भेटिएपछि मात्रै आफू डुबेर त्यसलाई बाहिर निकालिन्छ । 


यो याम स्थानीयका लागि आम्दानी लिने समय पनि हो । कमलको जरा निकाल्न सक्नेहरूले जरा बिक्रीबाट दैनिक २ देखि ६ हजार सम्म आम्दानी गर्ने गरेका छन् । कमलको जरा तौलेर वा नापेर भन्दा पनि अनुमानको भरमा बिक्री गर्ने गरिएको छ । कमलको काँचो जरा र फल जन्डिसका लागि उपयुक्त हुने भएकाले पछिल्लो समय यसको बिक्री बढेको छ ।