• १५ वैशाख २०८१, शनिबार

पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भीड

blog

महाशिवरात्रिको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा दर्शनार्थीको भीड । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, फागुन ६ गते । महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा शिवको पूजा आराधनाका लागि भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ ।

घोराही उपमहानगरपालिका –५ धारापानीस्थित विश्वकै अग्लो त्रिशूल रहेको सो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल बढेको हो । महाशिवरात्रिको अवसरमा मन्दिरमा बिहान ३ बजेदेखि नै भगवान् शिवको पूजापाठ तथा आराधना सुरु भएको पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  

महाशिवरात्रिको अवसरमा घोराहीस्थित रणसिङ दलको नेपाली सेनाको एक समूहले  सलामी समेत अर्पण परेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादवलगायतका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो । मन्त्री यादवले लुम्बिनी प्रदेशको समृद्धिको आधार पर्यटन र कृषि उद्योगको विकास रहेको बताउनुभयो ।  

एक लाख बढी  भक्तजनले पूजापाठ तथा दर्शन गर्ने अपेक्षा गरिएको मन्दिरमा सुरक्षा व्यवस्थालाई समेत कडा गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभएको छ । महाशिवरात्रिका अवसरमा धारापानीलगायत स्थानमा शिव मन्दिरमा दर्शनार्थीको भिड व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका लागि ३ सय ५० बढी सुरक्षाकर्मी परिचालन गरिएको दाङका प्रहरी प्रमुख वलीले जानकारी दिनुभयो ।