• १५ वैशाख २०८१, शनिबार

चमेराले छाडेन राजस्व परिसर

blog

अविनाश चौधरी

धनगढी, फागुन ४ गते । धनगढी उपमहानगरपालिका–३ स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा चमेराको ठूलो झुन्ड आठ वर्षदेखि बस्दै आएको छ। कार्यालय परिसरमा रहेको ल्याप्टिस, आँपलगायतका पाँच/छवटा रुखमा दिनभरि झुन्डिएर चमेरा बस्दै आएका छन्।

धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष राजबहादुर ऐरका अनुसार सो ठाउँमा आठ वर्षदेखि चमेराको ठूलो झुन्ड बस्दै आएको छ। उहाँका अनुसार पहिला दीपेन्द्र प्रहरी आवासीय माध्यमिक विद्यालयको हातामा रहेका रुखमा बस्दै आएका थिए। त्यहाँको रुख काटिएपछि अहिले सबै आन्तरिक राजस्व कार्यालय परिसरको रुखमा बस्दै आएका छन्।

पन्छीजस्तै उड्ने गरे पनि चमेरा विशेष र विलक्षण विशेषता भएको स्तनधारी प्राणी हुन्। चमेराले बच्चा जन्माउने र दूध चुसाउने गर्दछन्। चमेरा लामो दूरीसम्म उड्न सक्ने एक मात्र स्तनधारी प्राणी रहेको बताइन्छ। 

आन्तरिक राजस्व कार्यालय परिसरमा विगत वर्षदेखि बस्दै आएका चमेरा बेलुका पाँच/छ बजेतिरबाट आहारा खोज्नका लागि उड्ने गरेको सो कार्यालयमा कार्यरत एक जना सुरक्षागार्डले जानकारी दिनुभयो। उहाँका अनुसार बेलुका बासस्थानबाट उडेका चमेरा बिहान ३ बजेबाट मिर्मिरे उज्यालो नहुँदासम्म फर्किसक्ने गरेका छन्। दिउँसोतिर दिनभरि रुखमा उल्टो झुन्डिएर आराम गर्ने यो प्राणी बेलुका र बिहानतिर धेरै हल्ला गर्छन्। रातभरि चर्न गएकाले दिनभरि भने शान्त भएर बस्छन्।

चमेराले फलफूल, कीरा खाने गरेको जनाइएको छ। कैलालीमा चमेराको विशेष बासस्थान रहेको चराविद् हिरू डङ्गौराको भनाइ छ। धनगढीको आन्तरिक राजस्व कार्यालय र जोशीपुरको मुद्धीमा चमेराको झुन्ड बस्दै आएको उहाँले बताउनुभयो।

यो स्तनधारी प्राणी लामो समयसम्म एउटै ठाउँमा किन बस्छन् भन्ने खोजको विषय रहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “यिनीहरू धेरै समयसम्म आफ्नो बासस्थान किन छाड्दैनन्, यो अनुसन्धानको विषय हो।”

आन्तरिक राजस्व कार्यालयमा बस्दै आएका चमेरालाई सन् २०१९ मा डङ्गौराले नै गणना गर्नुभएको थियो। त्यो बेला ८५५ चमेरा अभिलेख गरिएको उहाँको भनाइ छ। हरि अधिकारीद्वारा लिखित नेपालमा चमेरा संरक्षण : एक शैक्षिक पुस्तिकामा उल्लेख भएअनुसारचमेरामा प्रतिध्वनि पत्ता लगाउने प्रणाली भएका कारण पूर्ण अन्धकारमा पनि अवरोधलाई पन्छाएर सानोभन्दा सानो कीरा समात्ने गर्दछन्। चमेराले उड्ने बेला तिखोपना भएको ध्वनि निकाल्ने गर्छ।

चमेरा ज्यादै लजालु र पारिस्थितिकीय प्रणालीको महत्वपूर्ण प्राणी रहेको बताइन्छ। सामान्यतयाः चमेराको आयु ३० वर्ष हुने गरेको र पोथीले एकचोटिमा एक वा दुई बच्चा जन्माउने गरेको पुस्तकमा उल्लेख छ। चमेराको हड्डी चराको जस्तो खोक्रो हुँदैन। अन्य स्तनधारी प्राणीका जस्तै हड्डी हुने गरेकाले शरीर गहुँग्रो हुने गर्दछ। फलस्वरूप हावामा झर्न र उडान भर्न सजिलो होस भनेर यो प्राणी उल्टो झुन्डिने गरेको पुस्तकमा उल्लेख छ। नेपालमा ५३ प्रजातिका चमेरा पाइने उल्लेख गरिएको छ।