• १५ वैशाख २०८१, शनिबार

सुनको मूल्यमा उतारचढाव

blog

काठमाडौँ, माघ २४ गते ।  सुनको मूल्यमा उतारचढाव भइहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव आएसँगै नेपालको बजारमा पनि मूल्यमा घटबढ भइरहेको छ ।

बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपियाँमा कारोबार भएकामा शुक्रबार प्रतितोला एक लाख छ हजार एक सय, आइतबार एक लाख चार हजार एक सय रुपियाँमा कारोबार भयो । आइतबारको मूल्यमा पाँच सय रुपियाँ बढेर सोमबार एक लाख चार हजार छ सय रुपियाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव भएका कारण यहाँ पनि अस्थिर बनेको जानकारी दिनुभयो । 

अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार प्रतिऔँस एक हजार ९१५ डलर रहेको सुनको मूल्य आइतबार घटेर एक हजार ८६५ डलरमा झरेको छ । 

सुनको मूल्य घटेर प्रतिऔँस एक हजार आठ सय रुपियाँसम्म झर्ने अनुमान गरिएको शाक्यले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस एक हजार आठ सय डलरमा झरेपछि स्थानीय बजारमा सुनको मूल्य एक लाख रुपियाँसम्म आउने शाक्यले जानकारी दिनुभयो । 

पछिल्लो दुई दिनयता लगातार सुनको मूल्य घट्दै गए पनि अन्तर्राष्ट्रिय बजार अझै अस्थिर रहेकाले आगामी दिनमा घटबढ के हुन्छ भन्न नसकिने उहाँको भनाइ छ । 

अमेरिका र चीनको व्यापार युद्ध, रुस–युक्रेन युद्धको प्रभावले सुनमा लगानीकर्ता आकर्षित भई यस क्षेत्रमा लगानी बढ्दै गएको विज्ञहरूको विश्लेषण छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्छ । 

नेपाली बजारमा यो वर्षको साउनदेखि माघ १९ गतेसम्म सुनको मूल्य प्रतितोलामा १३ हजार नौ सय रुपियाँले वृद्धि भएको छ । 

लगातार सुनको मूल्य बढेपछि बिहेको सिजनमा पनि कारोबार बढ्न सकेको छैन । विगतका वर्ष यतिबेला दैनिक ३० देखि ४० केजी सुन वितरण हुने गरेकामा अहिले मूल्य बढेकाले आधाले घटेर २० देखि २५ केजी बिक्री हुने गरेको व्यवसायीले बताएका छन् । मूूल्य बढेका कारण पुराना गहना बिक्री गर्ने ग्राहक बढी आउने गरेका छन् । एघार अर्बको सुन आयात 

चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपियाँ बराबरको १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । सो अवधिमा ३२ करोड ४८ लाख १८ हजार रुपियाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार ५२३ केजी चाँदी आयात भएको छ ।