• १४ वैशाख २०८१, शुक्रबार

वसन्तपुरका ३८ सम्पदाको पुनर्निर्माण सकियो

blog

काठमाडौं, माघ ९ गते । भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । वि.सं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनर्निर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

सङ्ख्यात्मक रूपमा पुनर्निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।  

हाल पुनर्निर्माणको काम भइरहेका सम्पदाहरू आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ । दरबार क्षेत्रमा रहेका ९५ सम्पदामध्ये भूकम्पमा ७५ वटा सम्पदामा क्षति पुगेको थियो ।

हनुमानढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौतले दरबार र उक्त दरबारसँगै रहेका वसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारले पुनर्निर्माण गरिसकेको छ भने हस्तान्तरण हुन बाँकी छ ।

साथै काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर नागरा वंशगोपाल, श्वेतभैरव, सिल्यान सत्तल, गद्दी बैठक, ढुकुटी चोक, तलेजु मन्दिर नजिकैको सानो मन्दिर, तलेजु  टेराकोटा तोरण, प्रताप मल्लको सालिक, कणेल चोकको पुनर्निर्माण पनि सकिएको छ । ऐतिहासिक गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भई सर्वसाधारणका लागि खुला गरिएको छ । 

हाल पुनर्निर्माण भइरहेका सम्पदाको काम पूरा नभई अन्य काम सुरु गर्न नमिल्ने र केहीको हकमा स्थानीयले रोकेकाले पुनर्निर्माणको काम अघि बढाउन नसकिएको प्रमुख खनालले जानकारी दिनुभयो । 

काम सुरु हुन नसेका २३ सम्पदामा मोहनचोक, सुन्दरीचोकसहित यस चोकचित्र रहेका अन्य केही सम्पदा छन् । “माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेगको पुनर्निर्माण सकिएपछि कामदेव मन्दिरको पुनर्निर्माण सुरु हुन्छ”, उहाँले भन्नुभयो ।

त्यसैगरी, आगम्छे घरको पुनर्निर्माण काम सुरु हुन सकेको छैन भने उक्त सम्पदाको काम नसकी मोहन चोक र सुन्दरी चोकको काम अघि बढाउन नसकिने उहाँको भनाइ छ । उक्त क्षेत्रमा रहेका कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम स्थानीयको अवरोधका कारण रोकिएको हो ।

यस क्षेत्रको सम्पदा पुनर्निर्माण पुरातत्त्व विभाग, चीन सरकार, जापानी सहयोग नियोग (जाइक)बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रम, काठमाडौं महानगरपालिका, केही स्थानीय गुठीमार्फत काम भइरहेको छ ।

प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार नाम रहन गएको हो । हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ ।

सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, कालभैरव, काष्ठमण्डपलगायत वरपरका अन्य सम्पदालाई पनि यहाँको महत्त्वपूर्ण सम्पदा मानिन्छ । यस स्थानमा विभिन्न ११ वटा महत्त्वपूर्ण चोक छन् ।

महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घर विसं १८१३ मा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले निर्माण गरेका हुन् । कुल ४४ रोपनी क्षेत्रफलमा फैलिएको वसन्तपुर दरबार क्षेत्र सन् १९७९ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो ।