होटल व्यवसायमा छ खर्बको लगानी

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, फागुन २ गते । काठमाडौँ उपत्यका बाहिरका अधिकांश होटल व्यवसायको लगानी संरक्षित क्षेत्रभित्रको जैविक विविधता र सिमसार क्षेत्रमा आधारित छ । वन तथा भू–संरक्षण मन्त्रालयले गत वर्ष गरेको संरक्षित क्षेत्रसँग सम्बन्धित एक अध्ययनले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न खोलिएका होटलहरू निकुञ्ज र सिमसार क्षेत्रमा आधारित रहेको पहिचान गरेको छ । मन्त्रालयका अनुसार उपत्यका बाहेक पोखरा, चितवन, बर्दिया, पर्सा सिमरा, कोसीटप्पु, रारा, शुक्लाफाँटा, लामटाङ, सगरमाथा, से फोक्सुन्डो, अन्नपूर्ण क्षेत्रलगायतका स्थानमा सञ्चालित होटल व्यवसायको लगानी राष्ट्रिय निकुञ्जभित्रको जैविक विविधता तथा सिमसार क्षेत्रलाई आधार बनाएर सञ्चालनमा छन् ।
होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार नेपालका होटल व्यवसायमा कुल लगानी कम्तीमा छ खर्ब रुपियाँ रहेको छ । उपत्यका पछि पोखरा, सगरमाथा, अन्नपूर्ण र चितवनलगायतका पर्यापर्यटन गन्तव्य मानिएका क्षेत्रमा ठूलो लगानी भएको छ । हानका सल्लाहकार तथा अनुसन्धाता काशीराज भण्डारीका अनुसार नेपालका होटल व्यवसायको कुल लगानीको ४० प्रतिशत काठमाडौँ उपत्यकामा भए पनि ६० प्रतिशत उपत्यका बाहिरका पर्यापर्यटनलाई केन्द्रमा राखेर लगानी गरिएको छ । breakfast
हानको अध्ययनमा उच्च हिमाली क्षेत्रमा रहेका संरक्षित क्षेत्रहरू सगरमाथा, अन्नपूर्ण, लामटाङ, कञ्चनजङ्गा, से फोक्सुन्डो क्षेत्रमा ठूलो मात्रामा लगानी भएको छ । मध्यपहाडी क्षेत्रमा पोखरा र अन्नपूर्ण क्षेत्रमा आधारित पर्यापर्यटनलाई दृष्टिगत गरी लगानी गरिएको पाइन्छ भने तराईमा चितवन, बर्दिया, कोसीटप्पु, शुक्लाफाँटामा होटल क्षेत्रमा लगानी भएको छ । पछिल्लो समयमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा भए पनि कोहलपुर आसपास र सडक यातायातको पहुँच भएपछि रारामा होटल व्यवसायमा लगानी जान थालेको अनुसन्धाता भण्डारीले बताउनुभयो ।
वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. युवकध्वज जिसीका अनुसार संरक्षित क्षेत्र घोषणा गरी जैविक विविधताको संरक्षणका साथै पर्यापर्यटनको विकास गर्दै स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार र राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने काममा मन्त्रालयले विशेष ध्यान दिइरहेको छ । उहाँले भन्नुभयो, पर्यापर्यटनको विकासलाई केन्द्रमा राखेर मन्त्रालयले गत वर्ष मात्रै पर्सा वन्यजन्तु आरक्ष र शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गरेको छ । राष्ट्रिय निकुञ्ज घोषणासँगै पर्यटक आउने सङ्ख्यामा वृद्धि हुनुका साथै त्यस वरिपरिका क्षेत्रमा ठूला होटल बन्ने क्रम जारी रहेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार हरेक वर्ष नेपाल भित्रिने बाह्य पर्यटकको कम्तीमा ८० प्रतिशत पर्यटकले नेपालका निकुञ्ज तथा तालतलैया, हिमालको दृश्यावलोकन गर्ने गरेका छन् । गत वर्ष नेपाल भित्रिएका १० लाख बाह्य पर्यटकमध्ये आठ लाखको रोजाइमा संरक्षित क्षेत्र परेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार वार्षिक रूपमा पर्यटकको प्रवेश शुल्कबाट मात्र ६० करोड रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । चितवन, सगरमाथा, अन्नपूर्ण क्षेत्र, लामटाङ, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बढीजसो पर्यटकले घुम्ने स्थान मानिन्छन् । यी स्थानमा आन्तरिक पर्यटकको पनि उत्तिकै आवतजावत हुने गरेको छ ।
उहाँका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज घोषणासँगै सिमरामा चार तारे होटलदेखि व्यवस्थित र सुविधा सम्पन्न होटल खोल्ने क्रम सुरु भइसकेको छ । त्यस्तै, बाँके राष्ट्रिय निकुञ्ज र रारा राष्ट्रिय निकुञ्ज वरिपरि पनि सुविधासम्पन्न होटल सञ्चालनका लागि अनुमति माग्ने क्रम जारी रहेको छ ।
२०२१ सालदेखि कम्पनी रजिष्ट्रार कार्यालयले होटल व्यवसायलाई दर्ता गर्ने प्रणालीको सुरुवात गरेको हो । हालसम्म देशभर सानाठूला गरी चार हजार होटल दर्ता भएको उक्त कार्यालयले जनाएको छ । पर्यटकलाई लक्षित गरेर खोलिएका होटलहरू पर्यटन विभागमा मात्र दर्ता हुने र कतिपय होटल राष्ट्रिय निकुञ्जमा मात्र पनि दर्ता हुनसक्ने कानुनी आधारले नेपालमा होटलको सङ्ख्या कति छ भनेर भन्न सकिने अवस्था छैन ।
अनुसन्धाता भण्डारीका अनुसार पछिल्लो समयमा नेपालको होटलको कुल बेड सङ्ख्या ८० हजार छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना