• १५ वैशाख २०८१, शनिबार

सुनको मूल्य बढेको बढ्यै

blog

काठमाडौँ, पुस २० गते । पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य बढेर यस वर्षकै उच्च प्रतितोला एक लाख दुई हजार छ सय रुपियाँमा कारोबार भएको हो । 

सोमबार प्रतितोला एक लाख एक हजार सात सय रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँश एक हजार ८२५ डलरमा कारोबार भएको सुनको मूल्य मङ्गलबार बढेर एक हजार ९४२ डलर कायम भएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अन्य मुद्राको तुलनामा डलर कमजोर हुँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले मूल्य बढ्दै गएको जानकारी दिनुभयो । 

अमेरिकाको फिडरल रिजभ बैङ्कले ब्याजदर बढाएका कारण सुनमा लगानीकर्ता आकर्षित भएको उहाँको भनाइ छ । “विश्व बजार अस्थिर रहेकाले मूल्य अझै बढ्ने देखिएको छ,” उहाँले भन्नुभयो । 

जनवरी सुरु भएसँगै सुनको मूल्य निरन्तर बढ्दै गएको छ । महासङ्घका अनुसार चालू आवको साउन महिनामा प्रतितोला ९३ हजार एक सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर अहिले प्रतितोला एक लाख दुई हजार छ सय रुपियाँमा पुगेको छ । 

यसअघि २०७८ फागुन २५ मा सुनको मूल्य बढेर प्रतितोला एक लाख पाँच हजार रुपियाँमा कारोबार भएको थियो । त्यसपछि क्रमिक रूपमा घटेर ९० हजार रुपियाँमा झरेको थियो । गत मङ्सिर महिनादेखि सुनको मूल्य क्रमिक रूपमा उकालो लाग्न थालेको हो । 

सुनको मूल्य निरन्तर उकालो लागेकाले बजारमा कारोबार पनि ठप्प अवस्थामा छ । पुस महिना लागेसँगै सुन खरिदको ‘सिजन’ नभएको र मूल्य बढेका कारण सुनको कारोबार नभएको व्यवसायीको भनाइ छ । अहिले दैनिक पाँच देखि १० केजी मात्र कारोबार हुने गरेको महासङ्घले जनाएको छ । बिहे, व्रतबन्ध आदिको सिजन नभएका कारण सुनको माग शून्यमा झरेपछि व्यवसायीले पुस महिनाभरि आयात नगर्न आग्रहसमेत गरेका छन् । 

सिजनका बेला दैनिक ३५ देखि ४० किलो सुनको खपत हुने गरेकोमा अहिले भने माग नै कम भएको व्यवसायीले जनाएका छन् । सुनको मूल्य निरन्तर बढ्न थालेपछि पुराना गहना बिक्री गर्नेको सङ्ख्या पनि बढ्न थालेको उनीहरूको भनाइ छ । 

नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चिति बढाउन गत वैशाखदेखि दैनिक २० किलोग्राम सुनको कोटा घटाएर १० किलोग्राममा झारेको थियो । बजारमा चाँदीको मूल्यसमेत बढेको छ । साउनमा प्रतितोला एक हजार १८० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा २३० रुपियाँ बढेर हाल एक हजार ४१० रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।