• २४ वैशाख २०८१, सोमबार

दोस्रो कार्यकालको पहिलो बैठक

प्रदेश समृद्ध बनाउन साझा धारणा आवश्यक

blog

प्रकाशविक्रम शाह

धनगढी, पुस १९ गते । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले प्रदेशलाई अझ समृद्ध बनाउन साझा धारणा बनाउनु पर्ने बताउनु भएको छ। सोमबार १ घण्टा ३४ मिनेट चलेको बैठकमा पाँचवटा दलका प्रतिनिधि  र एक स्वतन्त्र प्रदेश सभा सदस्यले प्रदेशलाई समृद्ध बनाउने विभिन्न उपाय सुझाउनु भएको थियो। बैठकमा भाग लिएका प्रदेश सभा सदस्यहरूले एकअर्कालाई विजयी भएकोमा बधाई तथा शुभकामनासमेत दिनु भएको थियो। 

प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसका तर्फबाट बोल्नु भएका प्रदेश सभा सदस्य शिवराज भट्टले प्रदेशको गरिबी, बेरोजगारी अन्त्य गर्न सीपमूलक शिक्षा दिइनुका साथै प्राकृतिक विपत्तिसँग जुध्ने काम गर्नुपर्ने बताउनुभयो। 

बैठकमा भाग लिँदै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई गौरवशाली र एक नम्बर प्रदेश बनाउन साझा सङ्कल्प गर्नुपर्ने बताउनुभयो। उहाँले प्रदेश सभालाई अध्ययन, विश्लेषण र जनताको आकाङ्क्षा पूरा गर्ने थलो बनाउनुपर्ने पनि बताउनुभयो। 

प्रदेश सभाको तेस्रो दल नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अघिल्लो प्रदेश सरकारले ५० देखि १०० वर्षसम्म काम लाग्ने योजना बनाउन नसकेको चर्चा गर्दै अबको सरकारले धार्मिक, पर्यटकीय, भाषा, संस्कृतिको भण्डारका रूपमा रहेको सुदूरपश्चिमको उपयोग गरेर विकास गर्नुपर्ने धारणा राख्नुभयो। नयाँ सुदूरपश्चिम सम्भव छ भन्ने दृष्टिकोणले अगाडि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो। 

बैठकमा कैलाली, कञ्चनपुरमा मात्र रहेको आदिवासी राना समुदायको प्रदेश सभामा प्रतिनिधित्व नभएकोमा प्रायः प्रदेश सभा सदस्यले दुःख व्यक्त गर्नुभएको थियो। अघिल्लो प्रदेश सभामा राना समुदायबाट दुई जनाको सहभागिता थियो। यस्तै गरेर सुदूरपश्चिमको गौरवको आयोजना कमै रहेका, मुक्त कमैयाको पुनस्र्थापना नभएको, बाढी, पहिरो र भूकम्पपीडितको उचित पुनस्र्थापना नभएको जस्ता सवाल पनि उठेका छन्। 

बैठकमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले २०७२ को टीकापुर घटनापछि सामाजिक सद्भाव कायम नभएको चर्चा गर्दै त्यसले सो क्षेत्रको आर्थिक, सांस्कृतिक समृद्धि हुन नसकेको बताउनुभयो। उहाँले जेलमा रहेका रेशम चौधरीलगायतका थारू अगुवा माघीअघि नै जेलमुक्त भएनन् भने संसद्का बैठकहरू अवरुद्ध हुने चेतावनीसमेत दिनुभयो। 

प्रदेश सभाको पाँचौँ दल नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले सङ्घीयताको विरोध गर्नेलाई कामको साझा बुझाइबाट जवाफ दिनुपर्ने बताउनुभयो। 

हालका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका सोडारीले विगतमा एक हजार किलोमिटर सडक रहेको सुदूरपश्चिममा प्रदेश सरकार आएपछि दोब्बर बनाइएको बताउँदै दुर्गम ठाउँमा पनि सरकार छ भन्ने अनुभूति दिलाइएको उल्लेख गर्नुभयो। राप्रपाका खिमादेवी विष्टले बलात्कार जस्ता घटना फेरि हुन नदिने गरेर सरकारले काम गर्नुपर्ने बताउँदै निर्मला पन्तलगायतका घटनाका दोषी पत्ता लगाएर कारबाही गर्न माग गर्नुभयो। स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले बेरोजगारी सबैभन्दा ठूलो समस्या रहेको बताउँदै बेरोजगारीले सामाजिक, आर्थिक, सांस्कृतिक मात्र होइन राजनीतिक अवस्थालाई समेत ध्वस्त बनाउने बताउनुभयो। 

उहाँले घर, घडेरी किन्न नसक्नेहरू मात्र पहाडमा बस्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताउँदै पहाडबाट तराईमा भइरहेको अव्यवस्थित बसाइँसराइले विभिन्न खालका समस्या ल्याएको बताउनुभयो। बैठकले प्रदेश सभा नियमावली २०७४ र त्यसको पहिलो संशोधन २०७६ लाई स्वीकार गरेर प्रदेश सभाका काम कारबाही अगाडि बढाउने निर्णय पनि गरेको छ। यस्तै गरेर सभामुखको निर्वाचन यही पुस २८ गर्ने निर्णय पनि गरेको छ।  

पहिलो बैठकका रोचकता 

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा  विभिन्न रोचक कुरा देखिएका छन्। बैठक सुरु हुनुअघि बजाइने राष्ट्रिय गानको धुन आधा पनि नबजेरै बन्द भएको थियो। सभामुखको जिम्मेवारीमा रहेका प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले फेरि बजाउन भनेपछि राष्ट्रिय गानको धुन पछिल्लो पटक पूरै बजाइएको थियो।

सभामुखको कुर्सीमा बस्नेलाई सभामुख नै र केही भन्दा पनि सभामुखमार्फत भन्छु भन्ने परम्परा भए पनि २०७४ र यस पटक पनि निर्वाचित भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीबाहेक सबैले ज्येष्ठ सदस्य ज्यू भनेर सम्बोधन गर्नुभएको थियो। बैठकमा मोबाइल साइलेन्समा राख्ने गरिन्छ तर केही प्रदेश सभा सदस्यका मोबाइल चार पटकसम्म बजेका थिए। त्यस्तो भएपछि सभामुखको जिम्मेवारीमा रहेका प्रदेश सभाका ज्येष्ठ सदस्य रावलले मोबाइल साइलेन्स राख्न आग्रह गर्नुभएको थियो।

बैठकमा बोल्दा सभामुखलाई मात्र सम्बोधन गर्नुपर्नेमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता खगराज भट्टले दर्शकदीर्घामा रहेका पत्रकारलाई पनि सम्बोधन गर्नुभएको थियो। २०७४ को पहिलो बैठकमा पनि नेकपा (एमाले)का संसदीय दलका नेता प्रकाशबहादुर शाहले दर्शकदीर्घामा रहेका सो पार्टीका नेताहरूको नामै लिएर सम्बोधन गर्नुभएको थियो।

सोमबारको बैठकमा राप्रपाकी एक मात्र प्रदेश सभा सदस्य खिमादेवी विष्टले पहिलो पटक प्रदेश सभामा बोल्दा नर्भस् भएको बताउनु भएको थियो। सभामुखको चुनाव पुस २८ गते हुने निर्णय प्रदेश सभा बैठकले गरिसकेको थियो तर नेकपा (एमाले)का केही प्रदेश सभा सदस्यले बैठक अन्त्य भएको घोषणा गरेपछि माघ २ गते हुने भनिएको चुनाव कसरी २८ गते सारियो भनेर सभामुखलाई सभा हलमै प्रश्न गरिरहनुभएको थियो। यसलाई संसदीय व्यवहार मानिँदैन।