• १५ वैशाख २०८१, शनिबार

दन्त अस्पताल अनुमतिबिना सञ्चालन

blog

सिराज खान 

नेपालगञ्ज, पुस १८ गते । कोहलपुरमा सञ्चालनमा रहेका दन्त अस्पताल स्थानीय सरकारको अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएको छ। कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले हाल कोहलपुरमा सञ्चालित कुनै पनि दाँत अस्पतालले स्थानीय सरकारसँग सञ्चालन अनुमति नलिएको जानकारी दिनुभयो।

प्रमुख ठकुरीका अनुसार नेपाल सरकार कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएकै आधारमा सबै दाँत अस्पताल सञ्चालनमा रहेको तर कसैले पनि स्थानीय सरकारसंग सञ्चालन अनुमति लिएका छैनन्। 

कोहलपुरमा करिब एक दर्जन दन्त अस्पताल सञ्चालनमा रहेका छन्। २०७४ सालअघि जिल्ला स्वास्थ्य कार्यालय बाँकेबाट एक वर्र्षे सञ्चालन अनुमति लिएका दाँत अस्पताल स्थानीय सरकारमा दर्ता हुनुपर्ने भए पनि हालसम्म स्थानीय सरकारमा दर्ताबिनै सच्चालन भइरहेका छन्।

स्थानीय सरकार गठन भएको छ वर्ष पुग्नै लाग्दासमेत बिनादर्ता निर्वाध रूपमा ती अस्पताल सञ्चालन हुनुमा स्थानीय सरकारकै कमी कमजोरी रहेको स्थानीयवासीको भनाइ छ। 

कोहलपुर नगरपालिकाले २०७५ सालमा स्वास्थ्य संस्था सञ्चालन ऐन निर्माण गरेको थियो। हाल सो ऐन संशोधन गरेर स्वास्थ्य संस्था सञ्चालन निर्देशिका–२०७८ समेत जारी गरेको छ। सो ऐन अन्तर्गत स्वास्थ्य संस्था अनिवार्य रूपमा स्थानीय सरकारमा दर्ता हुनुपर्ने प्रावधान छ। 

कोहलपुर–११ मा सञ्चालनमा रहेको मई डेन्टल अस्पतालका सञ्चालक गणेश शाहीले स्थानीय सरकारसँग सञ्चालन अनुमति लिनु पर्ने प्रावधानबारे आफू जानकार नरहेको बताउनुभयो। उहाँले कम्पनी रजिस्टार कार्यालयमा दर्ता गरेर ‘डेन्टल हस्पिटल’ सञ्चालन गरेको जानकारी दिनुभयो। 

२०७४ सालमा जिल्ला स्वास्थ्य कार्यालयबाट एक वर्षे सञ्चालन अनुमति लिएको भए पनि त्यसपछि कुनै सरकारी कार्यालयमा अनुमतिका लागि नगएको सञ्चालक शाहीले बताउनुभयो। 

ती अस्पतालले दिने सेवा, सेवाबापत लिने पैसासमेत मनपर्दी रहेको कोहलपुर–५ का सेवाग्राही दिनेश 

वाग्लेले बताउनुभयो। उहाँले शुल्कमा एकरूपता नरहेको गुनासो गर्नुभयो।  

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यसँग सोबारेमा जानकारी माग्दा उहाँले स्वास्थ्य संस्था सञ्चालनमा अनुमति लिनै पर्ने व्यवस्था रहेको जनाउँदै नलिएकालाई कडाइ गरिने बताउनुभयो। अनुमति नलिएर सञ्चालन भएकाहरूलाई कारबाहीको दायरामा ल्याइनेसमेत उहाँले जनाउनुभयो। 

तर नयाँ स्थानीय सरकार गठन भएको सात महिना बितिसक्दा पनि सोबारेमा अनुगमन नगरिएको र गैरकानुनी तरिकाले सञ्चालित कुनै पनि संस्थाउपर कारबाही नभएको कोहलपुरका स्थानीय राजेश आचार्यले बताउनुभयो।  

उहाँले सडकमा राखिने ठेलागाडा, फुटपाथ पसलको अनुगमन भएको तर ठूला भवनभित्र दर्ताबिनै सञ्चालित स्वास्थ्य संस्था भने निर्वाध चलिरहेको गुनासो गर्नुभयो।