• १५ वैशाख २०८१, शनिबार

रुकुमगाड जलविद्युत्को काम ठप्प

blog

राजु लामिछाने 

रुकुमपूर्व, पुस ६ गते । भूमे गाउँपालिका–४, धौलापैरामा निर्माणाधीन पाँच मेघावाट विद्युत् उत्पादन क्षमता रहेको रुकुमगाड जलविद्युत् आयोजनाको काम रोकिएको छ । निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको भन्दै आयोजनाको काम ठप्प पारेका हुन् । रुकुमगाड जलविद्युत् आयोजनाको मुख्य ठेकेदार कम्पनी श्री एटीसी/कवीन्द्र जेभीसँग कामको सम्झौता गरेका तीन निर्माण व्यवसायीले काम रोकेका हुन् ।

उनीहरूले एक करोड ४५ लाख ६६ हजार रुपियाँ भुक्तानी नपाएको भन्दै आयोजना निर्माणको काम रोकेका हुन् । हरिसिद्धि कन्स्ट्रक्सन एन्ड सप्लायर्स, जक्सन निर्माण सेवा एन्ड सप्लायर्स र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का इन्दराम घर्तीले जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई भुक्तानीको माग गर्दै निवेदन दिई काम रोकेका हुन् । 

जक्सन निर्माण सेवा एन्ड सप्लायर्सका सञ्चालक परशुराम खड्काले ६६ लाख ८० हजार रुपियाँ भुक्तानी रकम पाउन बाँकी रहेको बताउनुभयो । हरिसिद्धि कन्स्ट्रक्सन एन्ड सप्लायर्सले ६७ लाख ९१ हजार र इन्दमान घर्तीले १० लाख ९५ हजार पाउन बाँकी रहेको बताएको छ । जक्सन र हरिसिद्धि कन्स्ट्रक्सनले एक्साभेटर सप्लायर्स र इन्दरामले कामदार सप्लायर्सको कामको जिम्मा लिएर सम्पन्न गरेको हो । सम्झौताअनुसार इन्टेक बनाउनेदेखि पावर हाउस निर्माण, भवन फाउन्डेसन, पाइप लाइन विस्तार, बाटो निर्माणलगायतको काम समयमै सम्पन्न भए पनि भुक्तानीमा आलटाल गरेको निर्माण व्यवसायीको आरोप छ ।

गत भदौ १५ गतेभित्र सम्पूर्ण भुक्तानी गरिसक्ने सम्झौता भएको तर आफूहरूले रकम पाउन नसकेको निर्माण व्यवसायी खड्काले बताउनुभयो । आफूहरूले काम गरेको रकम पटक–पटक माग गर्दा पनि बेवास्ता गरेको आरोप निर्माण व्यवसायीको छ । उक्त रकम नपाएसम्म निर्माणसम्बन्धी कुनै पनि काम गर्न नदिने अडान निर्माण व्यवसायीको छ । 

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका आयोजना व्यवस्थापक रामचन्द्र त्रिपाठीले गत पुस १ गतेदेखि आयोजनाको काम अवरुद्ध भएको बताउनुभयो । उहाँले आयोजना निर्माणको मुख्य ठेक्का पाएका चार कम्पनीमध्ये श्री एटीसी/कवीन्द्र जेभीसँग कामको सम्झौता गरेका पेटी ठेकेदारहरूले काम रोकेको आरोप लगाउनुभयो ।