• १५ वैशाख २०८१, शनिबार

दुई किलोमिटर सडक बनाउन पाँच वर्ष

blog

नेपालगञ्ज समाचारदाता 

नेपालगञ्ज, पुस ५ गते । एक हजार आठ सय मिटर सडक निर्माणका लागि कति समय लाग्ला ? छ महिना, एक वर्ष वा दुई वर्ष। तर, बाँकेमा भने करिब एक हजार आठ सय मिटर सडक बनाउन साढे पाँच वर्ष बितेको छ। सडक निर्माण अझै पूरा हुन सकेको छैन। 

बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर सडक निर्माणको काम पाँच वर्षदेखि पूरा हुन सकेको छैन। 

सो सडक निर्माणको काम गर्ने ठेक्का गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाख लागतमा २०७४ साल वैशाखमा नै सम्झौता गरेको पाएको थियो। सो कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि ६६ महिना बिते पनि अझै सडक अपुरो नै छ। कोरोना महामारीको कारण देखाउँदै पटक–पटक म्याद थपाउने काम भने भइरहेको छ। विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन नसकेको स्थानीय सतीश निरौलाले बताउनुभयो। 

उहाँले स्थानीयले सडक निर्माणको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आए पनि सडक अझै अलपत्र नै परेको बताउनुभयो। सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार कोरोनाको महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमै काम नसकिएको जानकारी गराएर निर्माण कम्पनीले म्याद थप गर्दै आएको छ। 

उता निर्माण कम्पनीका सञ्चालक वामदेव रेग्मीले अहिलेसम्म जे भए पनि अब भने काम अन्तिम चरण पुगेको बताउनुभयो। खजुराको चार लेन सडकखण्डसँगै बर्दियाको गुलरियाको चार लेन खण्ड एकै पटक ठेक्का लिइएको जनाउँदै उहाँले अब छिट्टै सकिने बताउनुभयो।