• १४ वैशाख २०८१, शुक्रबार

भाडा घटाउन माग गर्दै उद्योगीहरू आन्दोलित

blog

छविलाल पाण्डे 

बुटवल, मङ्सिर २५ गते । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घले बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गाको भाडा वृद्धि गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेको छ । 

नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार उद्योगीहरूले बुटवलको औद्योगिक क्षेत्रमा रहेको व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । 

तालाबन्दीपछि बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष हिरामणि भट्टराईले आइतबार २४ घण्टाका लागि साङ्केतिक रूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप दबाबको कार्यक्रम गर्ने बताउनुभयो । 

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीहरूको भावना र सुझाव विपरीत एकै पटक ७ सयदेखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेर उद्योग बन्द गराउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो । 

रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले वर्तमान असहज अवस्थामा उद्योगलाई कसरी बचाउने र बन्द हुन नदिनेतर्फ सोच बनाउनु पर्नेमा भाडा बढाएर थप तनाव सिर्जना गरेको बताउँदै अहिले बढाएको भाडा उद्योगीहरूले तिर्नसक्ने अवस्था नरहेकाले तत्काल भाडा बढाउने निर्णय फिर्ता लिन आग्रह गर्नुभयो ।

बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक ८ हजार ३ सय २८ रुपियाँ भाडा लिँदै आएकोमा एकै पटक १६ हजार दुई सय रुपियाँ भाडा निर्धारण गरिएको भन्दै उद्योगीहरू आन्दोलनमा उत्रेका छन् ।