• १५ वैशाख २०८१, शनिबार

लाभांश वितरणमा नयाँ व्यवस्था

blog

काठमाडौँ, मङ्सिर १४ गते । अबदेखि लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्दा ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।

वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा उल्लेख छ ।

यसअघि लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्नुपर्ने व्यवस्था थियो । नगद लाभांश लघुवित्तकोे २०७८ असार मसान्तमा कायम बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो ।

यस्तो नगद लाभांश इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाको २०७८ असार मसान्तमा कायम बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा कम नहुने व्यवस्था थियो । लघुवित्तले खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा कम भएका लघुवित्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो ।