राष्ट्रकवि घिमिरे ९९ वर्षमा

त्रिभुवनचन्द्र वाग्ले/शिवामाया तामाङ

 

Madhav_Pd_Ghimireकाठमाडौंँ, असोज ८ गते । एक शताब्दीअघि लमजुङको पुस्तुनमा गीत गुनगुनाउन सिकेको एउटा बालकलाई त्यही गीतको भाखाले राष्ट्रिय व्यक्तित्व बनाउँछ । गीत रचनासँगै कविता कर्मलाई पनि समानान्तर रेखामा अगाडि बढाउँदै जाँदा त्यही बालक राष्ट्रकवि बन्ने सौभाग्य पाउँछ ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको जीवनको सफलतामा यिनै गीत र कविता सहायक बनेका छन् । तिनीले उहाँलाई दीर्घ साधक र दीर्घजीवी पनि बनाएको छ ।
प्रकृतिका सुन्दर फूललाई गीत र कवितामार्फत अझ सुन्दर मालामा उनेर मानव मुटुमा सजाइदिन सक्ने राष्ट्रकवि घिमिरे आफ्नो दीर्घ जीवनको रहस्य प्रकृति, पूmल, हरियाली रमणीय र हराभरा परिवेशलाई मान्नुहुन्छ । चराका चिरबिरलाई काव्यको भाषामा रूपान्तर गर्ने शिल्पी घिमिरेले परिष्कारवादी काव्य धारलाई सशक्त बनाउनुभयो ।
प्रत्येक वाक्य र बोलीलाई गीत बनाउन सक्ने गीति कवि घिमिरेले गीतबाटै चर्चित नाटक पनि लेख्नुभएको छ । यसरी उहाँको जीवन नै गीत र कविताको सङ्ग्रह र महाकाव्य आकारको सङ्ग्रह बनेको छ । विसं १९९२ मा १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकको कविता गोरखापत्रमा छपाएर काव्ययात्रा यात्रा सुरु गर्नुभएका घिमिरे शनिबारबाट ९९ वर्षमा प्रवेश गर्नुभएको छ ।
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनुभएको छ । उहाँको जन्मदिनको अवसरमा राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामना सन्देश राष्ट्रकविको लैनचौरस्थित घरमै पुगेर राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ माधव शर्मा र स्वकीय सचिव शिव भट्टराईले हस्तान्तरण गर्नुभयो । सन्देशमा राष्ट्रपति भण्डारीले कविले विगत एक शताब्दीदेखि साहित्य सिर्जनाको माध्यमबाट पु¥याउनुभएको अतुलनीय योगदानप्रति आभार व्यक्त गर्दै कविको क्रियाशील जीवनको शुभकामना दिनुभएको थियो ।
त्यस अवसरमा कवि घिमिरेले आफ्नो जन्मदिनको अवसरमा राष्ट्रपति कार्यालयबाटै शुभकामना सन्देश प्राप्त हुनु गौरवको कुरा हो, म यसबाट ज्यादै खुसी र कृतज्ञ छु भन्नुभयो । राष्ट्रकविको जन्मदिनको अवसरमा उहाँको निवासमा बिहानैदेखि साहित्य, गीत÷सङ्गीत क्षेत्रका व्यक्तित्वहरू र विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरू पुष्पहार र फलफूलसहित जन्मदिनको शुभकामना दिन पुग्नुभएको थियो । लोकगायिका चन्द्रकला शाहले पनि आफ्नो पुस्तक समर्पण गर्दै राष्ट्रकविलाई जन्मोत्सवको शुभकामना दिनुभयो । यस उमेरमा पनि उहाँ हरेक दिन साहित्यिक कार्यक्रममा सहभागिता जनाउँदै सक्रिय जीवन व्यतित गर्नुहुन्छ ।
उहाँको साहित्यक कृतिहरू विषकन्या, गौरी, उषा चरित्र, नवमञ्जरी, चारूचर्या, दुर्गा सप्तशती, नागानन्द, मनचिन्ते मुरली, हिमालवारि हिमालपारि, राजेश्वरी, पापिनी आमा, अश्वत्थामा, इन्द्रकुमारी, बोराको पर्दा र गौँथली र गजधम्मे बालसाहित्यका घामपानी, सुनपङ्खी चरी, बिजुला र बिजुलीलगायत थुप्रै सङ्ग्रह, गीतले नेपाली साहित्यको भण्डार भरिपूर्ण भएको छ ।
बनारसबाट शास्त्री पहिलो खण्ड उत्तीर्ण गरेपछि विसं १९९८ सालमा भाषानुवाद परिषद्बाट मासिक २५ रुपियाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपियाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभएको प्रसङ्ग घिमिरेले पटकपटक बताउँदै आउनुभएको छ । घिमिरे २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहेर देवकोटाको लामो सङ्गतमा रहनुभएको थियो ।
‘नेपाली हामी रहुला कहाँ नेपालै नरहे’, यो नेपाली शिर उचाली जस्ता कालजयी गीतमार्फत नेपालीलाई राष्ट्रियताको मालामा उन्नुभएका घिमिरेको नवमञ्जरी, घामपानी, नयाँ नेपाल किन्नर–किन्नरी जस्ता कवितासङ्ग्रह सङ्कलित छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना