• १४ वैशाख २०८१, शुक्रबार

वृद्धभत्ता पाँच हजार रुपियाँ बनाउँछौं : नेता पोखरेल

blog

काठमाडौं, कात्तिक २३ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले मङ्सिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले वृद्धभत्ता  पाँच हजार रुपियाँ बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा नेता पोखरेलले सो प्रतिबद्धता जनाउनुभएको हो । तत्कालीन मनमोहन अधिकारीको सरकारमा एक सय रुपियाँबाट शुरु भएको वृद्धभत्ता  एमाले सरकारकै पालामा वृद्धि गरिँदै आएको उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिकको हकहितका लागि आवाज उठाउने पहिलो पार्टी एमाले भएको चर्चा गर्नुहुँदै नेता पोखरेलले वृद्धभत्ता समयअनुसार क्रमशः वृद्धि गरिँदै लगिने बताउनुभयो । २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरू गर्दा अनेक विरोध भएको स्मरण गर्दै पोखरेलले भन्नुभयो, ‘अन्य दलको कैयौँ विरोध र अवरोधका बीच ज्येष्ठ नागरिकलाई भत्ताको व्यवस्था गरेका थियौं ।’ 

ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने बनाउनु सरकारको दायित्व भएको चर्चा गर्नुहुँदै नेता पोखरेलले भन्नुभयो, “कांग्रेसलगायतका दलले भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै विरोध गरेका थिए । तर ज्येष्ठ नागरिकको सम्मानका लागि एमाले नेतृत्वको सरकारले वृद्धभत्ताको व्यवस्था गरिछाड्यो ।” 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको आगामी सरकारले भत्ता बढाएर पाँच हजार रूपियाँ बनाउने योजना बनेको उहाँले प्रष्ट पार्नुभयो । ज्येष्ठ नागरिकको सम्मानका लागि एमालेले समाजमा चेतना फैलाउने काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

पोखरेलले आफू २०५१ को तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारीमा रहेको स्मरण गर्नुभयो । आगामी मङ्सिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हकहितका लागि धेरै एजेण्डा समेटिएको उहाँले चर्चा गर्नुभयो ।

ज्येष्ठ नागरिकको हितका लागि आगामी निर्वाचन एमालेले जित्नुपर्ने आवश्यकता रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । ज्येष्ठ नागरिकहरूले पोखरेलसँग आफूहरूलाई एउटा भवन आवश्यक रहेको तथा भवनमा भजनकीर्तन र जमघट गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको थियो । चुनावपछि एमाले नेतृत्वमा सरकार बनेपछि ज्येष्ठ नागरिकका समस्या समाधान गर्ने र भवन निर्माण गर्ने प्रतिबद्धता पोखरेलले गर्नुभयो ।