• १५ वैशाख २०८१, शनिबार

रुपन्देहीका स्टिल उद्योग बन्द

blog

लक्ष्मण पौडेल 

भैरहवा, कात्तिक १३ गते । रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग बन्द भएका छन्। स्टिलको कच्चापदार्थ एमएस ब्लेड र स्पन्ज आइरन आयातमा भन्सार महसुल र अन्तःशुल्क वृद्धिले उत्पादन लागत बढाएकाले उद्योग बन्द गर्नुपरेको उद्योगीहरूले बताएका छन्। 

सरकारले स्पन्ज आयात तथा बिलेट निर्यातमा विभेदकारी नीति ल्याएको बताउँदै उद्योगी लामो समयदेखि असन्तुष्ट रहेका थिए। उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि रुपन्देहीका पाँच स्टिल उद्योग बन्द भएका हुन्। 

भारत तथा तेस्रो मुलुकबाट कच्चापदार्थ ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीका पञ्चकन्या स्टिल, एभरेस्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण रूपमा बन्द भएका हुन्। एसआर स्टिल साउनदेखि बन्द भएको हो भने एभरेस्ट रोलिङ इन्डस्ट्रिज असोज पहिलो सातादेखि बन्द भएको हो। पञ्चकन्याले पनि आफ्नो उत्पादन एक महिनाअघिदेखि बन्द गरेको छ।

दैनिक दुई सय टन टीएमटी स्टिल उत्पादन गर्दै आएको एसआर स्टिल इन्डस्ट्रिज २०६८ सालमा स्थापना भएको हो। एकै प्रकृतिका कच्चा वस्तु आयात गर्दा फरक दर साथै कच्चा फलाम (एमएस ब्लेड)को भन्सार बिन्दुमै अन्तःशुल्क लगाउन थालेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आएकाले साउनदेखि नै बन्द गरेको प्रबन्ध निर्देशक इन्जिनियर सुरज उप्रेतीले जानकारी दिनुभयो। 

“बजेटमार्फत आएको सरकारको यो नीतिपछि स्पन्ज तथा फलामका कवाड (पत्रु) गलाएर ब्लेड बनाउने उद्योगलाई फाइदा पुगेको छ भने ब्लेड आयात गरी उद्योग चलाउने उद्योग नोक्सानीमा परेका छन्। त्यसैले उद्योग बन्द गर्नुको विकल्प रहेन,” उप्रेतीले भन्नुभयो। सरकारले बजेटमा स्पन्ज आइरन आयात गर्दा शून्य प्रतिशत तथा ब्लेडमा ५ प्रतिशत भन्सार शुल्क लिने नीति ल्याएको थियो भने एमएस ब्लेड आयातमा भन्सार बिन्दुमै प्रतिकेजी तीन रुपियाँ ५० पैसा अन्तःशुल्क कायम गरेको थियो। स्पन्ज आइरनमा भने अन्तःशुल्क पूर्ण मिनाहा गरिएको छ। उद्योगीको व्यापक विरोधपछि केही समयअघि सरकारले स्पन्ज आइरनमा १ प्रतिशत भन्सार महसुल कायम ग-यो भने एमएस ब्लेडको अन्तःशुल्क एक रुपियाँ घटाई दुई रुपियाँ ५० पैसा कायम गरेको थियो। 

सरकारको यही विभेदकारी नीतिका कारण उद्योग बन्द हुने अवस्था आएको रुपन्देहीको एभरेस्ट रोलिङका प्रबन्ध निर्देशक अरुण गोयन्काले बताउनुभयो। गोयन्काले स्पन्ज ल्याएर ब्लेड बनाउने उद्योगले भारतबाट आयात हुने ब्लेडभन्दा सस्तोमा दिन्छौँ भनेर दाबी गरेको तर दाबीअनुसारको सामान नदिएको बताउनुभयो।

एभरेस्ट रोलिङ उद्योगले दैनिक १५० टन टीएमटी स्टिल उत्पादन गर्दै आएको थियो भने सेक्सन आइटम पनि उत्पादन गरिरहेको थियो। नेपालको पहिलो स्टिल उद्योग हिमाल हो भने दोस्रो स्टिल उद्योग एभरेस्ट रोलिङ हो। सरकारको नीतिका कारण लागत बढेको, स्पन्ज आइरनसँग सम्बन्धित उद्योगसँग बिक्री मूल्यमा प्रतिस्पर्धा गर्न नसकिएको र बजारमा स्टिलको माग पनि कम हुँदै गएपछि एक महिनादेखि स्टिल उत्पादन नै बन्द गर्नुपरेको पञ्चकन्या समूहअन्तर्गतका उद्योगका महाप्रबन्धक देवेन्द्र साहुले बताउनुभयो। 

ह्यान्ड पम्प, ढकलगायत फलामे सामान र मेसिनरी पार्टस् रुपन्देहीमै बनाउँदै आएको रत्न आइरन इन्डस्ट्रिज पनि बन्द भएको छ। २०४० मा भैरहवा पडसरीमा सञ्चालित काष्ट आइरनमा आधारित यो उद्योगबाट वार्षिक पाँच सय टन बराबरका सामान उत्पादन हुँदै आएको थियो। 

स्टिल उद्योगहरू धमाधम बन्द हुनुमा सरकारको नीति नै गलत रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले बताउनुभयो। 

भैरहवा क्षेत्रमा पञ्चकन्या, एभरेस्ट, एसआर, गोयन्का, रत्न, फेरो, काठमाडौँ स्टिललगायतका उद्योगले अन्तःशुल्क तथा भन्सार शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गर्दै आएका थिए। यस क्षेत्रमा श्री स्टिल सबैभन्दा ठूलो र बढी क्षमताको उद्योग हो। त्यसैगरी स्पन्ज आइरनबाट सञ्चालित अम्बे स्टिल र लक्ष्मी स्टिलसमेत छन्। 

उद्योगहरू धमाधम बन्द हुन थालेपछि यहाँ काम गरिरहेका कामदार चिन्तित भएका छन्। यी पाँचवटै उद्योग बन्द हुँदा प्रत्यक्ष र परोक्ष गरी करिब दुई हजार कामदार प्रभावित हुने एभरेस्ट रोलिङका प्रबन्ध निर्देशक गोयन्काले बताउनुभयो।