• १५ वैशाख २०८१, शनिबार

नागरिकता बनाउन भीड

blog

तम्घास समाचारदाता

तम्घास, असोज २८ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउनेको भीड लागेको छ।

गुल्मी घर भई जिल्लाबाहिर पेसा व्यवसाय र अध्ययन गर्ने विद्यार्थीहरू दशैँ बिदामा घरमा आएको मौका छोपेर नागरिकता बनाउन आएकाले पनि भीडभाड बढेको हुनसक्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा मङ्गलबारबाट नागरिकता बनाउनेको बढी भीडभाड भएको जनाएको छ। दैनिक ४० वटा नागरिकता वितरण गर्ने क्षमता भएको जिल्ला प्रशासनबाट अहिले एकै दिन १४८ सम्म नागरिकता वितरण हुने गरेको प्रशासनको तथ्याङ्कमा छ। मङ्गलबार ९६ नयाँ नागरिकता, ४० प्रतिलिपि र १२ जनाको नाबालक परिचयपत्र जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।

बुधबार ८७ जनाको नयाँ नागरिकता, ४५ जनाको प्रतिलिपि र चार जनाको नाबालक परिचयपत्र जारी गरिएको हो। सिस्टमले काम नगरेका कारण बुधबार ३२ जनाको नागरिकता जारी गर्न नसकिएकाले बिहीबार पहिले बुधबारका बाँकी रहेकाहरूको काम गरिएको नागरिकता फाँटका नायब सुब्बा मेघप्रसाद पोखरेलले बताउनुभयो।

बिहीबार पनि नागरिकता बनाउनेको भीडभाड कायमै रहेकाले मङ्गलबारको हाराहारीमै नागरिकता जारी हुनसक्ने अनुमान गरिएको छ। गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले न्यून मात्रामा कर्मचारीहरू भए पनि साँझ अबेरसम्म बसेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको बताउनुभयो। नागरिकहरूलाई सहज रूपमा सेवा प्रवाह गर्नका लागि आफूले प्रबन्ध मिलाएको उहाँको दाबी छ। दशैँतिहार र कुलपूजा जस्ता पर्वहरूको मौका छोपी सहर बजारबाट घरमा आउँदा नागरिकता बनाउन आउनेको सङ्ख्या वृद्धि भएको हुन सक्ने प्रशासनले जनाएको छ।