• १५ वैशाख २०८१, शनिबार

बाँसका सामग्रीको व्यवसाय सङ्कटमा

blog

निगालोका सामग्री बनाउँदै तिलाडी कैनी टोलका बासिन्दा । तस्बिर: पुष्कर भण्डारी

डडेल्धुरा, असोज २३ गते । बाँस, निगालो र बेतबाट बनेका सामग्रीको बिक्री घटेपछि ती वस्तुको व्यवसायमा आश्रित बनेकाहरूको पेसा  सङ्कटमा पर्न थालेको छ । 

पहिले–पहिले घरायसी प्रयोग, कृषि उपज भण्डारण, ओसारपसार तथा सरल जीवनयापनका लागि निगालो, बाँस र बेतका सामग्रीको उपयोग हुँदै आएको थियो । पछिल्ला वर्षमा भने यी सामग्रीको उपयोग कम हुँदै गएको छ । बाँस, निगालो र बेतका सामग्रीको सट्टा सिल्भर, स्टिल, जस्ता पाता, प्लास्टिकका सामानले बजार पाउन थालेपछि बाँस, निगालो र बेतमा आश्रित रहेकाहरूको व्यवसाय सङ्कटमा परेको हो । 

गाउँघरमा अन्नबाली भण्डारणदेखि मलखाद, घाँसदाउरा, सोत्तर बोक्न बाँस, निगालोबाट बनेका सामग्री प्रयोग हुँदै आएका थिए । यति मात्र नभई कपडा, किताब, जुत्ताचप्पल राख्न र बस्ने कुर्सीदेखि टेबल, लौरोसमेत बाँस, निगालो र बेतका बनाइन्थे ।  अचेल भने गाउँघरबाट यस्ता सामग्री लोप हुँदै गएका छन् । 

अमरगढी नगरपालिका–७, तिलाडी कैनी टोलका पार्की, कैनी जातिले पुस्ताैंदेखि बाँस, निगालो र बेतका सामग्री बनाई गुजारा गर्दै आएका थिए । पहिले अन्न भण्डार गर्न निगालोबाट बनेको कोर्ङाे अर्थात् भकारी प्रयोग गरिन्थ्यो । यसलाई लिपपोत गरेर वर्षाैंसम्म अन्न भण्डारण गर्न सकिन्थ्यो तर अहिले जस्तापाताले बनेका ड्रम भकारीका रूपमा विकसित भएका छन् । 

यसैले गर्दा बाँस, निगालो र बेतको व्यवसाय लोप हुने अवस्थामा पुगेको स्थानीय टीका पार्कीले बताउनुभयो । यस्तै मलखाद, घाँस, दाउरा, सोत्तर बोक्न बाँस, निगालोका डोको प्रयोग गरिन्थ्यो । उहाँले भन्नुभयो, “अचेल यसका लागि प्लास्टिकका कट्टाको प्रयोग बढ्दो छ ।” 

तिलाडी कैनी टोलका दलितहरूले उत्पादन गरेका सामग्री डडेल्धुरा, डोटी, अछामलगायतका पहाडी जिल्लासँगै तराईका कैलाली, कञ्चनपुरका गाउँगाउँ पुग्थे । वर्षभरि सामग्री बनाई मुख्यतया दशैँ, तिहार र नयाँ वर्ष विशुका समयमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

तिलाडी गाउँका करिब दुई सय परिवारले पुर्खाैंदेखि बाँस, निगालोका सामग्री बनाई गाउँघरमा बिक्री गरेर गुजारा गर्दै आएका छन् । “वनजङ्गलमा निगालो, बेत पाउन पनि मुस्किल हुन थालेछ,” स्थानीय नारायण कैनीले भन्नुभयो, “यसको खेती पनि गर्न सकिएको छैन । बजारमा सहजै पाइने सिल्भर, स्टिल, जस्ता पाता एवं प्लास्टिकका सामानले यो पेसा सङ्कटमा पर्न थालेको छ ।” सरकारले स्थानीय उत्पादनलाई प्रवर्धन नगरेका कारण आफ्नो पेसा सङ्कटमा पर्न थालेको उहाँको बुझाइ छ । 

घर, कार्यालयमा आवश्यक सबै सामग्री बाँस, निगालो, बेतबाट बनाउन सकिन्छ । यस्ता सामग्री वातावरणमैत्री हुन्छन् । घरभित्र प्रयोग हुने सामग्रीको आयु वर्षौंसम्म हुन्छ । उहाँले भन्नुभयो, “स्थानीयलगायत तीनै तहका सरकारले यसको प्रवर्धनका लागि कुनै योजना बनाउँदैनन् । उत्पादित सामग्री पनि खरिद गर्दैनन् । यसले गर्दा पेसा सङ्कटमा पर्नुका साथै बेरोजगारी वृद्धि भइरहेको छ ।” 

Author

पुष्कर भण्डारी