• १४ वैशाख २०८१, शुक्रबार

काभ्रेको साँगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गरिने

blog

काठमाडौं, असोज ४ गते । छिमेकी देश भारतमा रहेको अर्ध नारेश्वरधामको प्रतिमा नेपालमा पनि स्थापना गरिने भएको छ ।

काभ्रेको नेपाल प्रहरी स्कुल साँगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्न लागिएको अर्ध नारेश्वरधामकी नेपाली प्रतिनिधि प्रमुख राज्यलक्ष्मी शाक्यले बताउनुभयो ।

मङ्गलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रमुख शाक्यले काभ्रेस्थित दिपेन्द्र प्रहरी स्कुलनजिकै धाम स्थापनार्थ निर्माण कार्य सुरू भइसकेको जानकारी दिनुभयो ।


अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्ने उद्देश्यले आफू नेपाल आएको विश्वकै पहिलो भागवत कथावाचक महामण्डलेश्वर हिमांगी सरबीले जानकारी दिनुभयो । उहाँले आफू भगवान् विष्णुको पहिलो भागवत कथावाचक भएको समेत दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “सबै मानिसलाई आशीर्वाद दिन आएकी हुँ । नेपाल र भारत एउटै हुन् ।  यी दुई राष्ट्र प्रेमका भूमि हुन् ।’’

नेपालमा अर्ध नारेश्वरधामको जल स्थापना गर्ने घोषणा गर्दै आफू किन्नर निर्मोही अखडा महामण्डलेश्वर भएको जानकारी समेत उहाँले दिनुभयो ।

नेपालमा पनि किन्नर निर्मोही अखडाको शाखा विस्तार गर्न लागेको उहाँको भनाइ छ ।


सरबीले अब चाँडै नै काठमाडौंमा भागवत र सत्सँग गर्ने पनि आफ्नो योजना रहेको सुनाउनुभयो । एक कथावाचकले भागवत सत्सँग गर्दा त्यसको सकारात्मक सन्देश पुरै विश्वमा जाने सरबीको भनाइ छ । स–साना बालबालिकाहरुलाई सनातन संस्कृति र शास्त्रको ज्ञान हुन आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।


त्यस्तै, उक्त धामकी नेपाल उपप्रमुख गीता तिमल्सिनाले काभ्रेमा धार्मिक धाम बनाउन खोजेको भन्दै उक्त योजनामा राजनीति र धर्म नमिसिने स्पष्ट पार्नुभयो ।

अहिले धार्मिक धाम बनाउन लागेको सुनाउनुहुँदै पछि विद्यालय बनाउने र त्यसबारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी उहाँले दिनुभयो ।
धाम, विद्यालयजस्ता पवित्र निर्माण कार्यमा जो कोही पनि जोडिने सक्ने भनाइ सरबीको छ ।