• १५ वैशाख २०८१, शनिबार

गर्भपतनको औषधि मेडिकलमा

blog

बैतडी समाचारदाता 

बैतडी, भदौ २१ गते । बैतडीमा रहेका मेडिकलले परिवार नियोजनको साधन कन्डम बिक्री गरेजस्तै गरी गर्भपतन जस्तो संवेदनशील औषधिसमेत खुलेआम बिक्री गर्ने गरेको रहस्य सार्वजनिक भएपछि त्यस्ता औषधि जफत गरेर सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको छ।  

जिल्ला प्रशासन कार्यालय बैतडीले यसरी नियमविपरीत औषधि बिक्री गर्ने र अनुमति नलिई पोलिक्लिनिक र ल्याब सञ्चालन गर्दै बिरामी भर्ना गरेर आफूखुसी उपचार गर्दै आइरहेका मेडिकल सिल गरेर कारबाही अघि बढाएको हो। 

जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यकर्मीसहितको संयुक्त अनुगमन टोलीले बैतडी सदरमुकामको दशरथचन्द नगरपालिका–१, २ र ४ मा सञ्चालित चारवटा मेडिकल, एउटा ल्याब र एउटा क्लिनिकमाथि कारबाही गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “दशरथचन्द नगरपालिका–२, देहिमाडौंमा रहेको निङ्लासैनी फार्मेसीले अनुमति नै नलिएकाले सिल गरेका छौँ। दशरथचन्द नगरपालिका–१, मुस्याचोरमा रहेका प्रकाश मेडिकल र जयदुर्गे मेडिकल हलले अनुमति नै नलिई ल्याब र पोलिक्लिनिक सञ्चालन गरेको पाइयो भने दशरथचन्द नगरपालिका–४, शाहीलेकमा नियमविपरीत औषधि बिक्री गरेको पाइएकाले कारबाही अघि बढाएका छौँ।” 

भारतीका अनुसार जफत गरिएका करिब एक लाख रुपियाँ बराबरका औषधि जिल्ला अस्पताल बैतडीलाई हस्तान्तरण गरिएको छ। जफत गरिएका औषधि ग्रहण गर्दै जिल्ला अस्पताल बैतडीका डा. दिपेश श्रेष्ठले मेडिकलबाट गर्भपतनको औषधि खाएर अत्यधिक रक्तस्राव भएर बेहोस भएपछि गर्भवतीहरू अस्पताल आउने गरेको बताउनुभयो।  

 चिकित्सकको अनुमतिबिना अन्य कुनै पनि औषधि बिक्री गर्न नपाउने र झन् गर्भपतनको औषधिका बारेमा त सोच्न पनि नसकिने अवस्थामा खुलेआम मेडिकलमा बिक्री हुनु अपराध नै भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो। 

उहाँले भन्नुभयो, “नेपाल सरकारले सूचीकृत गरेका दक्ष जनशक्ति भएका स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतनको सेवा रहेको छ। यीबाहेक मेडिकलबाट गर्भपतन गराउने औषधि बिक्री गरेमा औषधि ऐन २०३५ अनुसार ५० हजार रुपियाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ। यस्ता अनधिकृत औषधि सेवन गरेर कसैको ज्यान गएमा ज्यानसम्बन्धी कसुर लाग्ने व्यवस्था छ।”

मेडिकल अनुगमन टोलीमा सहभागी स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले औषधिको खुद्रा बिक्रेताको अनुमति लिएर गर्भपतन जस्तो संवेदनशील औषधिलगायत सुईमार्फत दिने औषधि राखेर पोलिक्लिनिक सञ्चालन गर्दै बिरामी भर्ना गरेको पाइएको बताउनुभयो। 

नियमविपरीत सञ्चालन भएका मेडिकल सिल गरेर सञ्चालकलाई कागजपत्रसहित सात दिनभित्र जिल्ला प्रशासनमा बोलाइएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो। 

सूचना अधिकारी भारतीका अनुसार जिल्ला प्रशासन कार्यालय बैतडीले सदरमुकामको गढी, गोठालापानी, शाहीलेक, देहिमाडौं, सतबाँझ र मुस्याचौर बजारमा रहेका मेडिकलसँगै खाद्यान्न पसलसमेत अनुगमनसमेत गरेर २५ वटा पसलबाट १८ हजार ६९० रुपियाँ बराबरको अखाद्य वस्तु बरामद गरेर नष्ट गरिएको छ।