• १५ वैशाख २०८१, शनिबार

तिलौराकोटलाई छिटै विश्व सम्पदामा सूचीकृत गरिनेछ : मन्त्री श्रेष्ठ

blog

तिलौरोकोटमा अवलोकन गर्दै मन्त्रीसहितको टोली । तस्विर – नारद कोहार । तौलिहवा

नारद कोहार

तौलिहवा, साउन १७ गते । सिद्धार्थ गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाँउ तिलौराकोटलाई छिटै विश्व सम्पदामा सूचीकृत गर्न पहल गरिने भएको छ ।

तिलौराकोटको अवलोकन गर्नुुभएपछि सो विषयमा प्रक्रियाहरु अगाडि बढाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताउनुभएको हो । 

कपिलवस्तुस्थित तिलौराकोटलगायत विभिन्न ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संवर्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “म मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि पर्यटकीय क्षेत्रको विकासको लागि योजना बनाएर कार्य गरिरहेको छु ।” 

बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थालहरुलाई आकर्षणको केन्द्रको रुपमा विकास गरिने मन्त्री श्रेष्ठले बताउनुभयो । तिलौराकोटलाई संसारको बुद्ध धर्मावलम्बी तथा अन्य धर्मावलम्बीहरुको तीर्थस्थलको रुपमा चाँडै नै विकास गरिने बताउनुभयो । बुद्धको जन्मभूमि लुम्बिनी आउने जोकोही तिलौराकोट आउनुपर्ने उहाँको भनाइ छ । 


मन्त्री श्रेष्ठले तिलौराकोटका साथै मायादेवी र शुद्धोधनको समाधिस्थल (जोडी स्तुप), कुदान र गोटीहवालगायतको क्षेत्रको अवलोकन गर्नुभएको थियो । सो अवसरमा लुम्बिनी विकास कोषको सदस्य सचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरबार क्षेत्रमा गरिएको उत्खनन् तथा अन्वेषणबारे मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, योजना प्रमुख सरोज भट्टराई, पुरातत्व अधिकुत हिमाल उप्रेती, कार्यकारिणी सदस्य रामनरेश प्रसाद कोहार, परिषद् सदस्य गोपीकृष्ण शर्मा, तिलौराकोटका प्रमुख माधवप्रसाद आचार्यलगायतको सहभागिता थियो ।