• १६ वैशाख २०८१, आइतबार

बाँसबारीबाट बन्यो शिवपुरी विद्यालय

blog

विसं २००५ मा स्थापना हुँदा शिवपुरी माध्यमिक विद्यालय बाँसबारीमा सञ्चालित थियो । बाँसबारीमा निजी घरबाट पठनपाठन सुरु भएको यस विद्यालयको नाम स्थापनाकालमा बाँसबारी माध्यमिक विद्यालय नै रहेको बताइन्छ । 

काठमाडौँ महानगरपालिका–३, महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयको लामो इतिहास छ । विस. २००५ मा नगन्य विद्यार्थी सङ्ख्यासहित स्थापना भएको यस विद्यालयमा अहिले करिब १६ सय विद्यार्थीले अध्ययन गर्दै आउनुभएको छ ।  बाँसबारीमा स्थापना भएको भए पनि विभिन्न समयमा कहिले चक्रपथ, कहिले हालको कान्ति बाल अस्पताल भएको स्थानमा सर्दै आएको यस विद्यालय विस. २०२१ मा महाराजगञ्जमा सरी दिगो रूपमा बालबालिकालाई सेवा दिन थालेको हो । 

बाँसबारीमा नै अर्को विद्यालय बाँसबारीकै नामले स्थापना भएपछि यस विद्यालयलाई २०३१ सालतिर शिवपुरी माध्यमिक विद्यालय भनी पुनः नामकरण गरिएको हो ।  

स्थापनाकालको लामो समय बिताइसकेको यस विद्यालयमा अहिले भर्ना हुन आएका सबै विद्यार्थीलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन, प्रधानाध्यापन प्रकाश सुवेदीले भन्नुभयो ।   

स्थापना कालको ७५ वर्र्षमा कुदिरहँदा अहिले यस विद्यालय विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । विद्यार्थीको रोजाइकै कारण भर्ना हुन आएका सबै विद्यार्थीलाई यस विद्यालयले भर्ना लिन सक्ने अवस्था छैन । 

चालु शैक्षिक सत्रमा पनि भर्ना हुन आएकामध्ये करिब सात सय विद्यार्थी अन्यत्र पठाइएको विद्यालयका प्रअ सुवेदीले जानकारी दिनुभयो । तीन रोपनी क्षेत्रफलमा सञ्चालित यस विद्यालयमा ३२ वटा कक्षाकोठा छन् भने विद्यालयमा ६३ जना शिक्षक कार्यरत हुनुहुन्छ  ।    

भएका सबै कक्षा कोठा पूर्ण रूपमा भरिएका छन् । नयाँ विद्यार्थीका लागि स्थान छैन । कक्षाकोठा र स्थान अभावकै कारण अहिले अध्ययनरत विद्यार्थीलाई पनि मुस्किलले व्यवस्थापन गरिँदै आइएको प्रअ सुवेदीले बताउनुभयो ।   

विद्यार्थी सङ्ख्याकै आधारमा कुनै कक्षामा चार वटासम्म कक्षा विभाजन गरेर पठनपाठन भइरहेको उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयबाट सामुदायिकमै आउनेभन्दा पनि निजी छोडेर आउने विद्यार्थी सङ्ख्या बढी छ ।  


प्रअ सुवेदीका अनुसार पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई राम्रो लगानी गरेको छ, जसका कारण सामुदायिक विद्यालय भौतिक रूपमा पनि सक्षम छन् । पढाइको गुणस्तर पनि राम्रो छ, जसको मुख्य कारण दक्ष विषयगत शिक्षक हुन् ।  

कम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने, पछिल्लो समय कामपाले सञ्चालन गरेको शिक्षामा सिप कार्यक्रम, दिवा खाजा कार्यक्रम र बुक फ्री फ्राइडे जस्ता कार्यक्रमले पनि सामुदायिक विद्यालयको आकर्षण अझै बढेको प्रअ सुवेदीको भनाइ छ ।  

हाल यस विद्यालयमा बालविकास कक्षा (इसिडी) देखि १२ सम्म अध्ययन हुँदै आएको छ  । सबै शिक्षक साथीहरूको सहयोग र मेहनतकै कारण गत शैक्षिक सत्रको एसइई नतिजा पनि राम्रो रहेको उहाँले बताउनुभयो । प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म कम्युटर इन्जिनियरिङको पठनपाठन हुँदै आएको छ ।  

विद्यालय स्थापना भएको ७५ वर्षको अवधिमा यस विद्यालयबाट शिक्षा लिएका पूर्वविद्यार्थीले डाक्टर, नर्स, व्यापारी क्षेत्रदेखि राजनीतिकमा समेत सक्रिय सहभागिता जनाएर विद्यालयको नाम उच्च बनाएको प्रशस्तै उदाहण उहाँको स्मरणमा छ  । 

चुनौतीका बिच पनि शैक्षिक र भौतिक सुधार गर्दै अगाडि बढिरहेको उहाँले बताउनुभयो । हाल विद्यालयमा सूचना प्रविधियुक्त  र योजनाबद्ध शिक्षण सिकाइ हुँदै आएको छ ।  

विद्यालयले कक्षाकोठा र किताबमा सीमित सिकाइलाई बृहत् बनाइएको, वर्षैपिच्छे शैक्षिक सामग्री प्रदर्शनीको आयोजना तथा  विद्यार्थीको प्रतिभा प्रस्फुटनको प्रयास गर्दै आएकाले उत्कृष्ट व्यवस्थापन र सिकाइ उपलब्धि भएको राम्रो विद्यालय भन्दै कामपाले विगतका वर्षमा पनि  शिवपुरीलाई नगद, सिल्ड र प्रमाणपत्रसहित पुरस्कृतसमेत गरेको थियो ।  

विद्यालयको विगतलाई बचाइराख्नु मुख्य चुनौती रहेको प्रअले जानकारी दिनुभयो । कक्षाकोठा जेनतेन व्यवस्थापन गएिको भए पनि खेल मैदानका लागि भने स्थान अत्यन्तै अपुग छ ।


कामपाका सामुदायिक विद्यालय   

हाल कामपामा ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।  जसमा ५९ माध्यमिक हुन् भने अन्य आधारभूत विद्यालय छन् । 

गुणस्तरीय शिक्षाकै कारण हाल कामपामा सञ्चालनमा रहेका विद्यालयमध्ये जनकल्याण माध्यमिक विद्यालय, शिवपुरी माध्यमिक विद्यालय, रत्नराज्य माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, पद्मोदय माध्यमिक विद्यालय, विश्व निकेतन माध्यमिक विद्यालय, सरस्वती निकेतन माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालयमा थप विद्यार्थीलाई पठनपाठन गराउने स्थान नभएको कामपाको भनाइ छ । आगामी दिनमा अन्य विद्यालयलाई पनि यस्तै नै बनाउने कामपाको लक्ष्य रहेको बताइएको छ । माथि उल्लेखित सबै विद्यालयमा सात सयभन्दा बढी विद्यार्थीले पठनपाठन गर्दछन् ।  

प्रचलित शिक्षा ऐन, २०२८ ले गरेको व्यवस्था र कामपा  शिक्षा ऐन, २०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, २०७४ ले गरेका प्रावधान अनुरूप विद्यालय सञ्चालनमा छन् । चालु आवमा कामपाले समग्र शिक्षाका लागि एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रुपियाँ विनियोजन गरेको छ । 

कम विद्यार्थी सङ्ख्याकै आधारमा केही वर्षअघिसम्म कामपाले  विद्यालय गाभ्ने भने पनि अहिले भएकालाई स्तर उन्नति गरी थप आकर्षण बनाउनतिर लागेको जनाएको छ । 

अब सामुदायिक विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीले कम्तीमा केही न केही सिप, केही श्रमसम्बन्धी ज्ञान र कुनै न कुनै रोजगारीसँग सम्बन्धित ज्ञान दिनकै लागि गत वैशाखदेखि कामपाले सञ्चालनमा ल्याएको शिक्षामा सिप कार्यक्रम पनि विद्यार्थीका लागि एउटा आकर्षण बनेको कामपाको भनाइ छ ।   कामपाले समृद्ध नेपालको सपना सामुदायिक विद्यालयको सबलीकरणबाट मात्रै सम्भव हुने पनि जनाएको छ । 

Author

शर्मिला पाठक