लीलाधर वली
घोराही, फागुन १८ गते । राज्यको कमजोर उपस्थितिको फाइदा उठाउँदै नेपाल–भारत सीमा क्षेत्रको वनमा मनोमानी रूपमा खयर कटान भएको छ । चुने वन क्षेत्र अन्तर्गत पर्ने दाङको राजपुर गाउँपालिका–१ स्थित सिरियानाका सामुदायिक वन समूहमा समूहकै पदाधिकारी र ठेकेदारको मिलेमतोमा जङ्गलमा रहेका खयरका रुख कटान गरिएको छ ।
डिभिजन वन कार्यालय लमहीबाट सामुदायिक वन क्षेत्रमा ढलापडा रुख कटान गर्ने अनुमति लिएर जङ्गलमा रहेका खडा खयरका रुख कटान गरिएको हो । वन क्षेत्रमा ढलापडा रुख कटानको नाममा वन समूहकै पदाधिकारीको मिलेमतोमा नढलेका खयरका रुख कटान गरिएको राजपुर गाउँपालिका–१, सिरियानाका निवासी स्थानीय भरत पुनले बताउनुभयो ।
जङ्गलमा ढलेका काठ सङ्कलन गर्ने नाममा वनले टाँचा हानेका ढलेका रुख छोडेर उपभोक्ताले वर्षौंदेखि संरक्षण गरेर राखेका खयरका रुख काटिएको उहाँले बताउनुभयो । वन समूहका उपभोक्तासमेत रहनुभएका पुनले भन्नुभयो, “ढलापडा रुख कटानको नाममा टाँचा हानिएका रुख छोडेर वनमा छानी छानी राम्रा खयरका रुख काट्ने काम गरिएको छ ।” मनपरी रूपमा नसुकेका खयर कटानपछि कसैले थाहा नपाउन् भन्ने उद्देश्यले काटिएका रुखका ठुटामा आगो लगाउने, स्याउला सोत्तरले पुर्ने कामसमेत गरिएको अर्का स्थानीय मनकुमारी पुनले बताउनुभयो । वनमा नियमविपरीत काठ कटान भएको जानकारी गराउँदासमेत सम्बन्धित निकाय मौन बसेको स्थानीयको गुनासो छ ।
वन समूहको उपभोक्तासमेत रहनुभएका पुनले भन्नुभयो, “जङ्गलमा ढलेका रुख कटानको नाममा सिधा रहेका राम्रा खयरका रुख कटान गरिएको छ । हामीले नजिकै रहेको प्रहरी र वनलाई जानकारी गरायौँ तर काट्ने काम रोकिएको छैन ।” उहाँका अनुसार फागुनमा ढलेका रुख कटानको अनुमति लिए पनि दुई महिनाअघिदेखि नै वनमा राम्रा रुख काटेर ढलाउने र अहिले ती रुख सुकेको भन्दै निकाल्ने गरिएको बताउनुभयो । वन समूहमा भएको बेतिथिबारेमा बोल्नेलाई आर्थिक प्रलोभनदेखि ‘पावर’ को डरत्रास देखाउने गरिएको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार एक सयभन्दा बढी खयरका रुख कटान गर्ने काम गरिएको छ । ती काटिएका कतिपय काठ जङ्गलमै रहेको, कतिपय काठ खोलामा घाटगद्दी गरेर राखिएको छ ।
वनमा व्यापक रूपमा खयरका रुख कटान भए पनि वन समूहका सचिव ओमबहादुर पुन यसबारेमा आफूलाई थाहा नभएको बताउनुहुन्छ । जङ्गलमा बर्सातको समयमा पहिरो तथा हावाहुरीका कारण ढलेका खयरका रुख कटान गर्ने अनुमति लिएर काट्ने र सङ्कलन गर्ने काम मात्रै आफूहरूले गरेको बताउनुभयो । वन समूहका सचिव पुनले भन्नुभयो, “वनमा ढलेका खयरका रुख कटान गर्ने अनुमति लिएर काम गरेका छौँ । नढलेका रुख कटानबारेमा थाहा छैन ।”
उहाँका अनुसार तीन हजार सात सय ७० क्युफिट खयर काट्ने अनुमति लिएर वनमा रहेका ढलेका रुख काट्ने काम भइरहेको छ तर वन समूहका सचिव पुनले वनको ठुलो क्षेत्र भएको र उक्त क्षेत्रमा चोरीसमेत धेरै हुने भएकाले कसले काट्यो भन्न नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वन ठुलो क्षेत्रमा रहेको छ, बाहिरबाट पनि मानिसले चोरी गर्र्ने भएकाले कसले काट्यो भन्न सक्ने अवस्था छैन ।” वन समूहमा चोरी हुने भएकै कारण सामुदायिक वन दर्ता गरेर संरक्षणमा लागेको सचिव पुन बताउनुहुन्छ ।
डिभिजन वन कार्यालय लमहीका डिभिजन वन अधिकृत राजु क्षेत्रीले नियमविपरीत टाँचा नलगाइएका रुख कटान गरेको भए कारबाही गर्ने बताउनुभएको छ । गत साउनमा दर्ता भएको सिरियानाका सामुदायिक वन समूहलाई फागुन मसान्तभित्र वन क्षेत्रभित्र रहेका ढलापडा तीन हजार सात सय ७० क्युफिट काठ कटानका लागि अनुमति दिइएको छ । डिभिजन वन कार्यालय लमहीका अनुसार वन समूहकै प्राविधिकबाट माघ २३ गते वनमा ढलेका १६६ वटा ढलेका रुख कटानका लागि टाँचा लगाइएको थियो । १३ सदस्यीय कार्यसमिति रहेको उक्त सामुदायिक वन समूहका ६१ घरपरिवार उपभोक्ता रहेका छन् ।