• १२ साउन २०८१, शनिबार

किरियापुत्री भवनको शिलान्यास

blog

किरियापुत्री भवनको शिलान्यास गर्नुहुँदै नगरप्रमुख प्रशान्त विष्ट । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन १७ गते । नेपालगन्ज उपमहानगरपालिकामा पहिलो सार्वजनिक किरियापुत्री भवन बन्ने भएको छ । बढ्दो शहरीकरणका कारण घर–घरमा पितृकार्य गर्न असहज हुँदैगएका बेला नेपालगन्ज उपमहानगरको वडा ४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन बन्न लागेको वडाअध्यक्ष गोपाल पुनले जानकारी दिनुभयो ।

किरियापुत्री भवनको बिहीवार एक कार्यक्रमबिच नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख विष्टले किरियापुत्री भवनले साँघुरो दुःखद कार्यमा परेका नगरबासीलाई सहजता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले नेपालगन्जमा टड्कारोरुपमा किरियापुत्री भवन आवश्यक महसुस हुँदै आएकोमा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताउनुभयो ।

करिब ६० लाखको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको किरियापुत्री भवनले सर्बसाधारणलाई काजकिरिया गर्न राहत प्रदान गर्ने निर्माण समितिका संयोजक सेमराज शाक्यले बताउनुभयो । दुई वटा परिवारले एकसाथ किरिया गर्न मिल्नेगरी बनाउन थालिएको भवन दुई तलाको हुने शाक्यले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका र वडा ४ को सहयोग र समन्वय तथा विभिन्न व्यक्तिहरुको स्वःस्फूर्त सहयोगबाट किरियापुत्री भवन बन्न लागेको वडाअध्यक्ष पुनले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा वडा ४ का वडा अध्यक्ष गोपाल पुन, समाजसेवी एवम् दाताहरु माधवी शाह, डा. सावित्रा कक्षपती, माधवराम बर्मालगायतले सामुदायिक सहभागितामा बन्न लागेको किरियापुत्री भवनमा सबैको हातेमालो आवश्यक रहेको धारणा राख्नुभयो ।