साबित्री गिरी
कोहलपुर, फागुन १७ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ बैरीयाका स्थानीयलाई अब बर्षायाममा हुने विपद्का बेला सहज हुनेभएको छ ।
विपद् प्रतिकार्य पूर्वतयारी कार्यक्रम अन्तर्गत समुदायमै अग्लो, बलियो र भूकम्प प्रतिरोधी दुई कोठे भवन बनेपछि स्थानीय क्षेत्रबहादुर कुमालले खुसी व्यक्त गर्नुभयो । उहाँजस्तै भवन निर्माण समितिका अध्यक्ष समेत रहनुभएका स्थानीय राम कुमालले पनि गाउँबाट दुईसय मिटरमै राप्ती नदी भएको र नदीले क्षति गर्दा अनाज राख्ने ठाउँ समेत नहुँदा बर्सेनि समस्या हुनेभएकोमा यसपालिदेखि राहत हुने बताउनुभयो ।
उहाँले यो भवनले वैरीयाका ३२ घरलाई प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । अर्का स्थानीय चन्द्रबहादुर कुमालले बाढीबाट हुने क्षति कम हुनेमा भवन बनेपछि आफू ढुक्क भएको बताउनुभयो । स्थानीयलाई बाढीबाट हुने क्षतिबाट जोगाउन स्थानीय स्रोत साधनको समेत प्रयोग गरी चुनारहित मिश्रित सुधारिएको माटो प्रविधिको प्रयोगबाट भवन निर्माण गरिएको प्राविधिक संयोजक रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो भवनमा विपद् व्यवस्थापनका सामाग्री राख्नुका साथै कुनै कार्यालय समेत सञ्चालन गर्न सकिने जानकारी दिनुभयो । सिआरएस नेपालको आर्थिक सहयोग तथा कारितास नेपालको सहकार्यमा ८ लाख ८७ हजार ७ सय २ रुपियाँ लागतमा भवन निर्माण सम्पन्न भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।