• १७ असार २०८१, सोमबार

हिनामिना भएको रकम फिर्ता गर्न माग गर्दै निवेदन

blog

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई निवेदन बुझाउनु हुँदै नगर प्रमुख रबि केसी । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, फागुन १७ गते । रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले हिनामिना गरेको करोडौँ रकममध्ये केही रकम बैङ्कले फिर्ता गरेको छ । 

लाखौँ रकम फिर्ता गर्न बाँकी रहेको भन्दै आठविसकोट नगरपालिकाका प्रमुख रबी केसीले जिल्ला प्रशासन र प्रहरीमा छानबिनको मागसहित निवेदन दिनुभयो । बैङ्कको आठविसकोट शाखामा अपरेसन इन्चार्ज पदमा कार्यरत नीरजविक्रम शाहले गैरकानुनी तरिकाले हिनामिना रकम फिर्ता गर्न थालेको र अझै पनि लाखौँ रकम फिर्ता गर्न बाँकी रहेको भन्दै निवेदन दिइएको छ । 

नगर प्रमुख केसीका अनुसार हालसम्म नगरपालिकाको एक करोड पाँच लाख र १४ जना बचतकर्ताको ६७ लाख ९८ हजार रुपियाँ बैङ्कले फिर्ता गरिसेकेको छ । अझै पनि आठ जना बचतकर्ताको ५८ लाख आठसय रुपियाँ फिर्ता गर्न बाँकी देखिएकाले सो रकम तत्काल फिर्ता गर्नुपर्ने उहाँको भनाइ छ । 

साथै अन्य १३ जना बचतकर्ताको खाता अनधिकृत रूपमा रोक्का गरिएकाले तत्काल सुचारु गर्न माग गरिएको छ । नगर प्रमुख केसीले बिहीबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त र प्रहरी नायब उपरीक्षक नमराज भट्टराईलाई छुट्टाछुट्टै निवेदन दिएर उक्त घटनाको शीघ्र छानबिनका लागि निवेदन पेस गर्नुभएको छ ।

निवेदनमा उहाँले बैङ्कका आधिकारिक प्रतिनिधिलाई बोलाएर आवश्यक अनुसन्धान, छलफल गराई खातावालाको रोक्का खाता फुकुवा गरी बैङ्क तथा तत्कालीन कर्मचारीबाट हिनामिना भई खातामा जम्मा नभएको रकम फिर्ता गर्न माग गर्नुभएको छ । 

स्थानीय स्तरमा भएको सहमति बैङ्कले बेवास्ता गरेपछि प्रशासनसमक्ष छानबिनको माग गरिएको छ । नगर प्रमुख केसीलाई पीडितहरूले दिएको निवेदनमा आठ जनाको ५८ लाख आठ हजार रुपियाँ फिर्ता गर्नुपर्ने देखिन्छ । पारस सुनारको ३० लाख ८० हजार, विमला दमाईको एक लाख १५ हजार, सुनिता शाहीको चार लाख ९३ हजार, विमला नेपालीको दुई लाख २० हजार, मनकला पुनको सात लाख, लक्ष्मणकुमार शाहीको तीन लाख, तिलकबहादुर मल्लको सात लाख र नरबहादुर कामीको दुई लाख रुपियाँ हिनामिना भएको उल्लेख छ ।