• ११ असोज २०८१, शुक्रबार

बर्दीबासमा राष्ट्रिय कराते प्रतियोगिता सुरु

blog

राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन र नगर परिक्रमाका सहभागी । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन १७ गते । बर्दीबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता–२०८० सुरु भएको छ । सातवटै प्रदेशका करिब १५ सय कराते खेलाडीको सहभागिता रहको प्रतियोगिताको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी बिहीबार उद्घाटन गर्नुभयो । 

मन्त्री भण्डारीले नेपालको खेलकुद क्षेत्रमा मार्सल आर्ट्सको योगदान उल्लेख्य रहेको बताउनुभयो । ‘‘खेलाडीहरूको श्रम र योगदानको कदर गर्दै उनीहरूको आत्मनिर्भर र सम्मानित जीवनका लागि राष्ट्रले ठोस कदम चाल्नु आवश्यक छ,’’ भण्डारीले भन्नुभयो ।

नगरप्रमुख प्रह्लाद क्षेत्रीले बर्दीबासमा खेल पर्यटनको प्रचुर सम्भावना भएपनि सरकारको बर्सेनि बजेट कटौती गर्दै जाने प्रवृतिले खेल क्षेत्रमा चाहे जस्तो रकम विनियोजन गर्न नसकेको समस्या बताउनुभयो । 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रदेश सांसद शारदादेवी थापा, जिल्ला समन्वय समिति महोत्तरी प्रमुख सुमनलाल कर्ण, कराते महासङ्घका अध्यक्ष युवराज लामा, संस्थापक अध्यक्ष दावा गुरुङले स्वास्थ्य, समुन्नत र अनुशासित समाजकालागि खेलकुदको विकाश अपरिहार्य रहेको धारणा राख्नु भएको थियो ।  

कराते महासङ्घ मधेश प्रदेशका सचिव कसम लामाकाअनुसार फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र आयोजक गरी १० टोलीको सहभागिता रहेको छ । बर्दीबास नगरपालिकाको सहयोगमा नेपाल कराते महासङ्घले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ एकल काँता र टिम काँताका ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ प्लस केजी गरी ७ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ । 

यस्तै महिलातर्फ पनि एकल र टिम काँताका ४५, ५०, ५५, ६१, ६८, र ६८ प्लस केजीसमेत ६ विधामा प्रतिस्पर्धा हुने लामाले जनाउनुभयो । प्रतियोगितामा एरिका लामा, निरुपमा गुरुङ, कुसुम खड्का, एलिसा राजकोटी जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहेकोले बर्दीबास प्रतियोगिताको आकर्षण र चर्चा चुलिएको छ । 

कराते प्रतियोगिताको उद्घाटन बिहीबार (आज) भए पनि बर्दीबासमा यसको गतिविधि भने १४ गतेदेखि नै सुरु भएको थियो । यस अवधिको पहिलो तीन दिन एक सय ५० जना महिला रेफ्रीसहित नौ सय जनाको सहभागितामा छैटौँ राष्ट्रिय रेफ्री सेमिनार र कोच परीक्षा जस्ता मार्सल आर्ट्सका महत्त्वपूर्ण गतिविधि सम्पन्न भएको आयोजकले जनाएको छ । कोच परीक्षामा स्तर अपग्रेडका लागि ५० जना सहभागी भएको लामाले जनाउनुभयो । फाइनल खेल शनिबार हुनेछ ।