• ११ मंसिर २०८१, मङ्गलबार

‘स्पोर्ट्स कनेक्ट’ अर्को महिना

blog

‘स्पोर्ट्स कनेक्ट’ बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, फागुन १७ गते । नेपाली खेल क्षेत्रको विकास गर्न सरोकारवाला निकायलाई एकै थलोमा उभ्याउने उद्देश्यले चैत अन्तिम साता काठमाडौँमा ‘स्पोर्ट्स कनेक्ट’ हुने भएको छ । 

माइस इन्टरनेसनल सर्भिस प्रालि र नेपाल स्पोर्ट्स एसोसिएसन (नेसा) को आयोजनामा चैत २२ देखि २४ गतेसम्म भृकुटीमण्डपमा हुने कार्यक्रममा नेपाल स्पोर्ट्स कन्क्लेभ, चौथो नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो र स्पोर्ट्स एन्ड फिटनेस एक्स्पो गरी तीन विधा समावेश गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा माइसका प्रबन्ध निर्देशक दीपक थापाले जानकारी दिनुभयो । 

दीपकको अनुसार नेपाल स्पोर्ट्स कन्क्लेभमा नेपाल ओलम्पिक कमिटीसहित नेपाली खेलकुदमा आबद्ध विभिन्न सङ्गठन र संस्थाबिच समन्वय गर्ने, खेलकुदलाई कर्पोरेट र उद्यमसँग जोड्न विज्ञहरूसहितको संवाद र छलफल गरिने छ । 

स्पोर्टस् कन्क्लेभ नेपाल ओलम्पिक कमिटीसँगको समन्वयमा पहिलो पटक आयोजना गरिन लागिएको हो । नेपाली खेलकुदको विकास र नयाँ योजना तर्जुमाका लागि स्पोर्ट्स कन्क्लेभ महत्त्वपूर्ण हुने नेपाल ओलम्पिक किमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो ।

यस्तै नेसाको आयोजनामा हुने चौथो नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिपमा डोटा–२, काउन्टर स्टुइक–२, पब्जी मोबाइल, एमएलबीवी ओपन, एमएलबीबी वुमेन र ई–फुटबल खेलाडी तथा टिम स्पर्धा समावेश गरिएको नेसाका अध्यक्ष सुरज डंगोलले जानकारी दिनुभयो । ई–स्पोर्ट्सतर्फको विजेताले आगामी नोभेम्बर ११ देखि १९ तारिखसम्म साउदी अरेबियाको रियादमा आयोजना हुने १६औँ विश्व ई–स्पोर्ट्स च्याम्पियनसिपमा सहभागिताको मौका पाउनेछ । 

यस्तै कार्यक्रममा समावेश स्पोर्ट्स एन्ड फिटनेस एक्स्पोमा खेल सामाग्री उत्पादक तथा व्यापारिक कम्पनी, खेल प्रतिष्ठान, खेलकुदका विभिन्न क्लब, प्रतियोगिता, च्याम्पियनसिप, खेलकुद सङ्घ, शैक्षिक संस्था, आर्थिक प्रविधि, इन्टरनेट सेवा प्रदायक, स्पोर्ट्स एसेसरिज र सर्भिस प्रदायक कम्पनी तथा संस्थाले आफ्नो उत्पादन तथा सेवा प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।