• १२ साउन २०८१, शनिबार

राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटामा पदयात्रा (फोटो फिचर)

blog

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानबाट धनकुटासम्म भएको पदयात्रा ।

कविराज घिमिरे/कोकिला भण्डारी

धनकुटा, पुस २७ गते। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानबाट धनकुटासम्म एकीकरण पदमार्गमा पदयात्रा गरिएको छ। 

 नेपाली सेनाको आयोजनामा धरानस्थित फुस्रेबाट धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित साँगुरीगढीसम्म पदयात्रा गरिएको हो। साँगुरीगढी एउटा त्यो थलो हो जो नेपाल एकीकरणताका एकीकरणका नायक राजा पृथ्वीनारायण शाहका सेनाका कमाण्डर अभिमानसिंह बस्नेतले वि.सं. १८३१ मा साँगुरीगढीमा गोर्खाली फौज पठाई नियन्त्रणमा लिएर त्यहीबाट उत्तर र पूर्वतर्फ एकीकरण अभियानको सुरुवात गरिएको थियो। 

त्यस्तै कोशी राजमार्ग बन्नु अघिसम्म पहाडी क्षेत्रका नागरिकको नुन तेल लिनलाई धरान जाने मुख्य नाका हो। यसैलाई आधार मानेर भिमदल गण सल्लेरी धनकुटाको संयोजनमा धरानदेखि करिब साढे छ किलोमिटर उकालो यात्रा गरेको हो। साँगुरीगढी पुगेपछि विभिन्न नाच तथा कार्यक्रम आयोजना गरिएको थियो। 

कार्यक्रममा पूर्वी प्रितना हेडक्वाटर इटहरीका पृतनापती उपरथी पिएचडी आसबहादुर तामाङ्गले पुर्खाहरुको योगदान भुल्नु नहुने बताउनुभयो। साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुदाली राईले यसलाई इतिहास र पर्यटनसँग जोड्नु पर्ने र त्यसको लागि पालिकाले पहल गरिरहेको बताउनुभयो। बृहत् पदयात्रामा धनकुटा र धरानका दुई सय बढी विभिन्न सरोकारवाला, पर्यटन व्यवसायी र स्थानीय बासिन्दा तथा नेपाली सेनाको सहभागिता रहेको थियो।

नेपालको एकीकरणको दौरानमा फुस्रे, चिउरीबास, साँगुरीगढी, फेदी, टेकुनाला, धनकुटा, बेलहरा, उत्तरपानी, हिले, पाख्रिबासलगायतका स्थानमा पुग्न प्रयोग भएका मार्गलाई  जीवन्त राख्न र आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लामा भित्र्याउनका लागि पैदल यात्राको सुरुवात गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्जालीले जानकारी दिनुभयो।