काठमाडौँ, पुस २५ गते । छैठौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन पाँचौँ चरणसम्मको समाप्तिमा दोलखा चेस होम नेपालले एकल अग्रता लिएको छ ।
नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी प्रतियोगितामा बुधबार सम्पन्न चौथो चारणको खेलमा दोलखाले आयोजक ललितपुर स्पोर्ट्स क्लबमाथि जित हात पारेको थियो । पाँचौँ चरणमा थापाथली पार्क चेस क्लबलाई पराजित गर्दै दोलखाले १० अङ्क बनाएको छ ।
दोलखाका वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले आजको खेलमा राजन सुवेदीलाई हराउनुभयो भने क्षितिज भण्डारीसँग बराबरी खेल्नुभयो । दोस्रो बोर्डमा उहाँले सुश्रुत दाहालले सुरोज महर्जनमाथि जित निकाल्नुभयो भने सुशील चौधरीसँग बराबरी खेल्नुभयो ।
त्यसैगरी महान् नर्सिङले रिसोन थापासँग बराबरी खेल्नुभयो भने सेम सुब्बामाथि विजयी प्राप्त गर्नुभयो । गर्ल्स र यु– १६ युवा अन्तर्गत डब्लुएफए सुजना लोहनीले आयुष देमन रौरालाई पराजित गर्दै अनुपजंग शाहसँग बराबरी खेल्नुभएको छ । राष्ट्रिय क्लब टिम च्याम्पियनसिपको मूल मर्म अनुरूप दोलखाका चारै जना खेलाडीले टिमलाई जिताउन महत्त्वपूर्ण योगदान गर्नुभयो ।
अर्को टिमतर्फ आयोजक ललितपुर स्र्पोट्स क्लब चौथो चरणमा दोलखा चेस होमसँग पराजित भयो । पाँचौँ चरणमा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घलाई हरायो भने नकआउट चरणमा प्रवेश गर्ने प्रबल सम्भावनालाई जीवित राख्न सफल भयो ।
आयोजक ललितपुरका राजन सुवेदीले पुरुषोत्तम दाहालसँग बराबरी गर्नुभयो । सुरोज महर्जनले विक्रम चोकामीलाई हराउनुभयो । रिसोन थापाले स्वर्णिम दुवाललाई पराजित गर्नुभयो भने आयुष देमन रौराले अभिक शाहसँग बराबरी गर्दै टिमलाई महत्त्वपूर्ण जित दिलाउनुभयो ।
ललितपुर स्पोर्ट्स क्लब आठ अङ्कसहित दोस्रो स्थानमा छ । यस्तै समान आठ अङ्क बनाएको मकवानपुर जिल्ला बुद्धिचाल सङ्घप्रोग्रेसिप आधारमा तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता पुस २८ गतेसम्म चल्नेछ ।