• १२ मंसिर २०८१, बुधबार

राष्ट्रिय भारोत्तोलनमा राजुलाई स्वर्ण

blog

दोस्रो दिन प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, पुस २५ गते । मध्यपुर ठिमीमा जारी २६औँ भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपमा बुधवार पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जित्नुभएको छ । यस विधामा नेपाली आर्मीका मुक्तिराम घलेले रजत जित्नुभयो । 

जुनियर ६७ केजी पुरुषतर्फ कास्कीका रोशन चुनवाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत जित्नुभएको छ ।  यूथ पुरुष ६७ केजीतर्फ सप्तरीकी अनुराग सिंह पहिलो र कञ्चनपुरका दीपेश घटाल दोस्रो हुनुभयो । 

७३ केजीतर्फ सिनियर पुरुषमा नेपाल प्रहरीका प्रकाश केसी पहिलो र कञ्चनपुरका अशोकसिंह भण्डारी दोस्रो हुनुभयो । यस्तै ७३ केजी जुनियर पुरुषतर्फ कञ्चनपुरका हेमन्त पाल पहिलो र इलामका पुष्कर राई दोस्रो हुनुभयो । 

७३ केजी यूथतर्फ सप्तरीका हेमनारायण यादव स्वर्ण जित्न सफल हुनुभयो । यसअघि मङ्गलबार महिला ४९ केजीतर्फ नेपाल प्रहरीकी कृष्णकला विष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । उहाँले स्न्याचतर्फ ५९ र क्लिन एण्ड जर्कतर्फ ७७ किलो उचाल्दै नयाँ राष्ट्रिय किर्तिमानसहित स्वर्ण जित्नुभएको हो । 

यही विधामा नेपाली सेनाकी सिर्जना तामाङले रजत जित्नुभयो । त्यस्तै ५५ केजी पुरुष सिनियरतर्फ नेपाल प्रहरीका दिलीप यादवले स्न्याचतर्फ ८२ र क्लिन एण्ड जर्कतर्फ एक सय तीन किलो भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभएको छ । यही विधामा नेपाली सेनाका दीपकबहादुर भण्डारी दोस्रो भए । पुरुष ६१ केजीतर्फ नेपाली सेनाका तुलाराम महतोले स्वर्ण र एपिएफका पारस देसारले रजत जिते ।

महिला ४५ केजी सिनियरतर्फ नेपाल प्रहरीकी हिरामोति थारु पहिलो र एपिएफकी लीला राई दोस्रो भए । ५५ केजी महिला सिनियरतर्फ नेपाली सेनाकी प्रभा थारु पहिलो र ललितपुरकी सप्रिना श्रेष्ठ दोस्रो भए । बिहीबारसम्म चल्ने प्रतियोगितामा नेपालका २३ जिल्लाका १ सय ६४ खेलाडीहरूले प्रतिष्पर्धा गरिरहेका छन् ।