• ४ जेठ २०८१, शुक्रबार

मङ्गल प्रसादलाई किशोर सिंह राठौर यु–१६ क्रिकेट उपाधि

blog

यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोली । तस्बिर : गोरखापत्र

कमल खत्री 

नेपालगन्ज, पुस १७ गते । मङ्गल प्रसाद उच्च माविले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा मङ्गल प्रसाद उच्च माविले नेपालगन्ज मोडेल एकेडेमीलाई चार विकेटले हराउँदै उपाधि जितेको हो ।

बुधबार टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । टोलीका लागि सुमित विष्टले २४ रन बनाउनुभयो । विवेक पुनमगरले १५ र रोजिन पुनमगरले १३ रन बनाउनुभयो । मंगलका अजय केवट र समीर कसगरले दुई दुई तथा फरहान खानले एक विकेट लिनुभयो । 

एक सय १८ रनको विजयी लक्ष्य मङ्गल प्रसादले १७ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गरेको थियो । मङ्गल प्रसादका लागि प्लेयर अफ दि फाइनल फरहान शेखले २९ रन बनाउनुभयो । अबु सहिमाले २० र अजय केवटले ११ रन बनाउनुभयो । 

नेपालगन्ज मोडेलका सुमित विष्टले दुई विकेट लिनुभयो । निश्चल पुन र रियाजुद्धिन खानले एक एक विकेट लिनुभयो । प्रतियोगितामा आइडियल पब्लिक स्कुलका समीर अन्सारी प्लेयर अफ दि टुर्नामेन्ट र उत्कृष्ट बलर घोषित हुनुभयो । मङ्गल प्रसाद उच्च माविका साहिल शेख उत्कृष्ट ब्याटसम्यान, मंगलकै अब सहमा शेख उत्कृष्ट फिल्डर हुनुभयो । 

विजेताले ५० हजार, उपविजेताले ३० हजार र उत्कृष्ट खेलाडीले १० हजार रुपियाँ पुरस्कार पाउ । उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानलाई पनि नगद पुरस्कार प्रदान गरियो । प्रतियोगितामा बाँकेका १६ विद्यालयको सहभागिता रहेको थियो । 

विजेतालाई नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर, लुम्बिनी प्रदेश सभासद् माया पुन, सन्जु चौधरी, मिना सिद्धिकी, सुशीला नेपालीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।