• १२ मंसिर २०८१, बुधबार

एपीएफका प्रिन्स र सुजन प्रिक्वार्टरफाइनलमा

blog

पहिलो दिन प्रतिस्पर्धा गर्दै एपीएफका सुजन थापा ।

काठमाडौँ, पुस २५ गते । नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र सुजन थापा प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।

आयोजक स्पोर्टस् हबको लाखेपोखरी, बौद्ध ६ स्थित कभर्डहलमा भएको बुधबारदेखि सुरु भएको प्रतियोगितामा प्रिन्सले जोहेर उद्धिनलाई २१–७, २१–६ ले हराउनुभयो । सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २१–१७, २१–१३ ले पराजित गर्नुभयो । 

प्रतियोगिताको अन्य खेलमा नेपाल पुलिसका सुनिल जोशीले एपीएफका अमन महर्जनलाई २१–१९, २१–१६, आर्मी क्लबका डेभिड थापा मगरले स्पोर्टस् हबका विशाल तामाङ्गलाई १७–२१, २१–११, २१–१५, पुलिस क्लबका जीवन आचार्यले एपीएफका क्षितिज खनाललाई २१–१९, २२–२०, आर्मीका कबिर केसीले सरफराज उद्धिनलाई २१–२, २१–४ र एपीएफका देवराज रानाले सागर लामालाई २१–५, २१–४ ले हराउनुभयो । 

यस्तै पुलिस क्लबका अभिक श्रेष्ठले पिस फिटनेश सेन्टरका दशरथ बुढालाई २१–७, २१–१६, एपीएफका अनिल मल्लले एपीएफकै अरुण अधिकारीबाट वाक ओभर पाउनुभयो । अर्को खेलमा पुलिसका दीपक बोहराले आर्मी क्लबका रोशन साउदलाई १७–२१, २१–१२, २१–१९, एपीएफका भोजबहादुर गुरुङले मोइन उद्धिनलाई २१–१०, २१–९, आर्मीका प्रफुल महर्जनले बालकुमारी रिमिक्सका सुसन श्रेष्ठलाई २१–९, २१–६ र नखिपोटका विवेक चौधरीले लाफ्फाका मनोज फौदारलाई २१–११, १५–२१, २१–१७ ले हराउनुभयो । 

एपीएफका विजित थापा मगरले पुलिस क्लबका पूर्ण थापालाई २१–१९, १९–२१, २१–११, स्पोर्टस् हवका सुनिल कार्कीले एपीएफका प्रारम्भ सिम्खडालाई २१–१२, २१–७ र पुलिसका विष्णु कटुवालले देवीनगर ब्याडमिन्टन क्लबका बविश थापालाई २१–१४, २१–४ ले हराउँदै अन्तिम १६मा पुग्नुभयो । 

नेकपा माओवादीका नेता प्रकाश दाहालको स्मृतिमा आयोजना भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ्गले उद्घाटन गर्नुभयो । प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयता बाहेक), स्थानीय, मास्टर्स युगल ३५ वर्षमाथि र ४५ वर्षमाथि गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ ।