• ४ जेठ २०८१, शुक्रबार

क्यानको महाप्रबन्धक नियुक्तिमा त्रुटि भएको आरोप

blog

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नवराज कोइराला ।

काठमाडौँ, पुस २४ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धक नियुक्तिमा त्रुटि भएको उक्त पदका प्रतिस्पर्धी नवराज कोइरालाले आरोप लगाउनुभएको छ । कोइरालाले बुधबार पत्रकार सम्मेलन गरी क्यानले तत्काल उक्त निर्णय र नियुक्ति प्रक्रिया नसच्याए आफू अदालत जाने चेतावनी पनि दिनुभयो ।

‘‘महाप्रबन्धक नियुक्ति प्रक्रियाको बारेमा क्यानलाई हामी ७२ घण्टाभित्र पत्र पठाउने छौँ । यदि क्यानले महाप्रबन्धक नियुक्ति र छनोट प्रक्रियामा भएको गल्ती सुधार नगरे सबै क्यान्डिडेटहरु अदालत जानेछौँ,’’ कोइरालाले भन्नुभयो ।

क्यानले मंगलबार मात्र उत्सव ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको थियो । प्रतिस्पर्धी कोइरालाले क्यानका सचिव पारस खड्का बलियो नेपाल संस्थाको संस्थापक रहेको र सोही संस्थामा आबद्ध ढुङ्गानालाई महाप्रबन्धक बनाइनु आश्चर्यजनक भएको बताउनुभएको छ । 

आवेदन दिएका ६८ जनाबाट १४ जनालाई सर्टलिस्ट गरी ११ जनाको परीक्षा लिएर त्यसबाट सात जनालाई अन्तर्वार्ता लिई अन्तिममा ढुङ्गानालाई नियुक्त गरिएको थियो ।