काठमाडौँ, पुस २५ गते । नेपाल हक्की सङ्घले सशस्त्र प्रहरी बल नेपाल (विशेष कार्यदल) बङ्गलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की खेल सामग्री प्रदान गरेको छ ।
सङ्घले सशस्त्रलाई नियमित तालिमको लागि प्रशिक्षकको पनि व्यवस्था गर्न लागेको छ । कार्यदलका प्रमुख एसपी समिक कुमार महर्जनलाई सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले बुधबार उक्त खेल सामग्री हस्तान्तरण गर्नुभयो । नेपालमा हक्की खेल विकासका लागि सङ्घले एपीएफमा विभागीय टिम बनाउने लक्ष्यसहित नियमित तालिमको व्यवस्था गर्न लागेको महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
सङ्घले एपीएफसँगै विभिन्न विद्यालयसँग पनि सहकार्य गरी हक्की खेलाडी उत्पादन गर्न लागेको जनाएको छ । सशस्त्रलाई खेल सामाग्री हस्तान्तरण कार्यक्रममा हक्की सङ्घका पदाधिकारी तथा सशस्त्र प्रहरी विशेष कार्यदलबाट प्रशिक्षणमा रहने २५ जनाको उपस्थिति रहेको थियो।