काठमाडौँ, पुस १२ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त हुने निर्वाचन अधिकृतको नाम टुङ्ग्याएको छ । न्याय
परिषद्को सिफारिसमा आयोगले निर्वाचन अधिकृत नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोग पदाधिकारीले बिहीबार वा शुक्रबार निर्वाचन अधिकृत नियुक्त गर्ने छ । परिषद्ले सात जना निर्वाचन अधिकृतमा नियुक्त हुने न्यायाधीश र सात जना अतिरिक्त गरी १४ जनाको नाम प्रस्ताव गरेको छ । कोशी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेल, मधेश प्रदेशमा जिल्ला अदालत धनुषाका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशमा जिल्ला अदालत मकवानपुरका न्यायाधीश महेन्द्रबहादुर कार्की र लुम्बिनी प्रदेशमा जिल्ला अदालत दाङका न्यायाधीश कृष्णसुर कार्कीको नाम न्याय परिषद्ले सिफारिस भएको छ ।
त्यसै गरी कर्णाली प्रदेशमा जिल्ला अदालत सुर्खेतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा जिल्ला अदालत कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको नाम सिफारिस भएको हो । माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारी दर्ता हुँदै छ । पुस १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ ।
मनोनयनसँगै पेस गर्नुपर्ने कागजात
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उम्मेदवारले मनोनयनपत्रसँगै १८ प्रकारको कागजात पेस गर्नुपर्ने जनाएको छ । आयोगका अनुसार उम्मेदवारको नागरिकताको प्रमाणपत्र, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, १० हजार धरौटी जम्मा गरेको रसिद बुझाउनुपर्ने छ ।
त्यसै गरी दलबाट उम्मेदवारी दिए मनोनयनको औपचारिक पत्र, दलित समूहबाट उम्मेदवारी दिनुपर्ने भए प्रमाणित हुने निस्सा, अल्पसङ्ख्यक वा अपाङ्गता भएको समूहबाट उम्मेदवारी दिए प्रमाणित हुने निस्सा, प्रस्तावक र समर्थकको नाम, मतदाता नम्बर, उम्मेदवारको सम्पत्ति विवरणलगायतका कागजात पेस गर्नुपर्ने छ । उम्मेदवारले सङ्घीय कानुनले अयोग्य नभएको भनी स्वघोषणा गर्नुपर्ने, लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए राजीनामा दिएको दर्ताको निस्सा, प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि बुझाउनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।