जानु पाण्डे
कपिलवस्तु, पुस ११ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा आठौँ चन्द्रौटा महोत्सव सञ्चालन हुनेभएको छ । पुस १३ गतेदेखि सुरु हुने सो महोत्सव पुस २४ गतेसम्म चल्ने बताइएको छ ।
चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको आयोजनाको विषयमा बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । सम्मेलनमा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अलीले मेला महोत्सवले आर्थिक क्षेत्र चलायमान हुने बताउनुभयो ।
उहाँले स्थानीय कलकारखाना, घरेलु तथा साना उद्योग, व्यवसायसँगै स्थानीय पर्यटन विकासमा महोत्सवले भुमिका खेल्ने बताउनुभयो । महोत्सव स्थलमा स्टल निर्माण, आकर्षक गेट, बाल उद्यानको काम अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष एवम् चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले बताउनुभयो ।
धार्मिक स्थलको प्रचार प्रसारका लागि शिवगडी मन्दिर आकृतिको मुलगेट र मायादेवी मन्दिर आकृतिको सचिवालय निर्माण गरिएको छ । महोत्सवमा १८० स्टल रहने आयोजकले जनाएको छ । साथै एक लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड रुपियाँ बरावरको कारोवार हुने लक्ष्य लिएको संघका राजकुमार क्षेत्रीले बताउनुभयो ।
विकासको पूर्वाधार आन्तरिक उत्पादन उद्योग र व्यापार भन्ने मूल नाराका साथ शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरूको जगेर्ना गर्ने मुख्य उद्देश्यले महोत्सवको प्रचार प्रसार तीव्र पारिएको प्रेस संयोजक कृष्ण गैरेले बताउनुभयो ।