चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ११ गते। चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा ताप्लेजुङमा आयोजना गरिएको प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनसरीको चक्रघट्टी फुटबल क्लबले जितेको छ। बुधबार भएको फाइनलमा मोरङको सगरमाथा युथ क्लबलाई पराजित गर्दै चक्रघट्टीले गोल्डकप उपाधि जितेको हो।
निर्धारित समयमा भएको खेलमा १–१ बराबरी गोल भएपछि प्रतियोगिताको छिनोफानो पेनल्टी सुटआउटमार्फत गरिएको हो। पेनल्टी सुटआउटमा ४–३ को गोलअन्तरले सगरमाथालाई हराउँदै चक्रघट्टीले उपाधि हात पार्न सफल भएको छ। प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल उपाधिसँगै चक्रघट्टीले तीन लाख दुई हजार ८० रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।
प्रतियोगितामा उपविजेता बनेको सगरमाथा युथ क्लबले एक लाख ५१ हजार ८० रुपियाँ नगद तथा मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ। निर्धारित समयमा सगरमाथाका सुशील राई पहिलो हाफ र चक्रघट्टीका सञ्जय प्रधानले दोस्रो हाफमा गोल गर्दै खेललाई बराबरीमा पुर्याउनुभएको थियो। गत बुधबारदेखि सुरु भएको अन्तर–जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए। सेमिफाइनलमा पाँचथर फुटबल क्लबलाई हराउँदै सगरमाथा युथ क्लब र तेह्रथुमको आठराई गाउँपालिकालाई हराउँदै चक्रघट्टी फुटबल क्लब फाइनलमा पुगेका थिए।
यता फाइनलअन्तर्गत बुधबार भएको खेलमा सगरमाथा युथका सुशील राई म्यान अफ दि म्याच घोषित हुनुभयो। यस्तै उत्कृष्ट गोलरक्षक चक्रघट्टीका असिव राई, हाइस्कोरर आकाश राई र सर्वश्रेष्ठ खेलाडी सोही टोलीका सञ्जय प्रधान हुनुभयो। उहाँहरु सबै विधाका खेलाडीलाई जनही पाँच हजार रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्र थेबेले जानरकारी दिनुभयो।
गोल्डकपको उपाधि विजेता तथा उपविजेतालाई पुरस्कार राशीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रतिनिधिसभा सदस्य उर्मिला थेबे लिम्बू, प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू र सञ्चालन समिति संयोजक थेबेले संयुक्तरुपमा वितरण गर्नभएको थियो। गोल्डकप प्रतियोगिता भने चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुटबल क्लब र ङा वोरक सङजुम्भो फुङ्लेङले संयुक्त आयोजना गरेको हुन्। प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको थियो।