• १ जेठ २०८२, बिहिबार

सङ्घ र प्रदेशबिच समन्वय नहुँदा प्रहरीलाई समस्या : मन्त्री भट्ट

blog

प्रदेश स्तरीय अपराध अनुसन्धान कार्यक्रममा उपस्थित मन्त्री शिवराज भट्ट र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस ११ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सङ्घ र प्रदेशबिच समन्वय नहुँदा प्रहरीलाई समस्या भइरहेको बताउनु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालयले आज संयुक्त रूपमा धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मन्त्रीले प्रहरी समायोजन हुन जरुरी रहेको बताउनुभयो । 

प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाए पनि प्रहरी समायोजन नभएको भन्दै समायोजनका लागि सङ्घमा पहल गर्न सबैलाई आग्रह गर्नुभयो । 

यसैगरी, मन्त्री भट्टले अपराध नयाँ तरिकाले बढिरहेका कारण सोही बमोजिम कानुन बनाएर अपराध नियन्त्रण गर्न आवश्यक रहेको औँल्याउनु भयो । उहाँले भन्नु भयो,“आज सङ्गठित अपराध सबैभन्दा ठुलो समस्याको रूपमा देखिएको छ । लागुऔषध अपराध पनि अत्यधिक बढेको छ । यस्ता अपराधलाई कसरी नियन्त्रण गर्ने त्यसतर्फ नेपाल प्रहरीले ध्यान देओस् ।”

प्रहरी र नागरिकबिच एक अर्कासँग परस्पर सम्बन्ध हुनुपर्ने मन्त्रीको भनाइ थियो । प्रहरी र जनताबिचको सम्बन्धले अपराध अनुसन्धानमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

यसैगरी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पछिल्लो केही वर्षयता डिजिटल अपराधको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुभयो । साइबर अपराध नियन्त्रण गर्नका लागि प्रहरीमा तत्काल प्राविधिक ज्ञान हुनुपर्ने भन्दै उहाँले प्रशिक्षणका लागि अपराध अनुसन्धान विभागलाई निर्देशन दिनुभयो । 

अधिकांश सरकारी मुद्दा असफल हुनुको विविध कारणमध्ये अपराध अनुसन्धानमा पीडित र साक्षीको तर्फबाट पर्याप्त सूचना प्राप्त नहुनु पनि एउटा कारक तत्त्व रहेको कुँवरको भनाइ थियो । “पीडित र साक्षी संरक्षणको सुनिश्चितता, मानव अधिकारको संरक्षणसहित महिला, बालबालिका हिंसा सम्बन्धी घट्नालाई गम्भीरतापूर्वक लिनमा आग्रह गर्दछु”, उहाँले भन्नु भयो ।

प्रहरीले गरेका त्रुटिका कारण अनुसन्धान कार्य र समग्र प्रहरीको क्षमतामाथि नै प्रश्न खडा हुने गरेकाले विगतका कुरालाई मध्यनजर गरेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरीको गरिमा गिराउने छुट कसैलाई नरहेको प्रहरी महानिरीक्षक कुँवरको भनाइ थियो । 

उहाँले अपराध अनुसन्धानका लागि ज्ञान, सीप, दक्षता, अनुभव, अथक लगावसँगै अतिरिक्त सरोकारवालासँग समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । 

यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले प्रहरी अनुसन्धान प्रविधिमैत्री हुनु आवश्यक रहेको औँल्याउनु भयो । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा अपराध अनुसन्धानमा क्रियाशील प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।