• १२ साउन २०८१, शनिबार

मल्लरानी पर्यटन सडकमा कालोपत्रे

blog

पर्यटकीय क्षेत्र मल्लरानी पुग्ने कालोपत्रे सडक । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ 

प्यूठान, मङ्सिर १३ गते । जिल्ला सदरमुकाम खलङ्गाको पर्यटकीय स्थल मल्लरानीको पर्यटन प्रवर्धनका लागि मल्लरानी पर्यटन सडक कालोपत्रे गरिएको छ । सदरमुकाम खलङ्गादेखि मल्लरानीसम्म करिब पाँच किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।

सङ्घीय सरकार र मल्लरानी गाउँपालिकाको समपूरक बजेटमार्फत ३ करोड ९५ लाख ९५ हजार रुपियाँमा निर्माण सम्पन्न भएको छ । महेश इन्जिनियरिङ एण्ड सत्यवती जेभी र पुष्पा बिल्डर्स एण्ड कम्पनी प्रालिले दुईवटा स्किममा निर्माण कार्य गरेको योजना शाखा अधिकृत वन्दना शाक्यले जानकारी दिनुभयो । 

मल्लरानी पर्यटन क्षेत्रको विकासका लागि सडक निर्माणसँगै मल्लरानीको विकासका लागि डीपीआर तयार गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । गाउँपालिकाले मल्लरानीलाई प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो । ८ करोड लागतको इस्टिमेट डीपीआरमा छ । पार्क र पिकनिक क्षेत्र बनाउने काम अहिले भइरहेको अध्यक्ष खड्काले बताउनुभयो ।

सदरमुकाम खलङ्गाको शिर मल्लरानीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको छ । मल्लरानीमा निजी क्षेत्रबाट समेत पर्यटनसँग सम्बन्धित निर्माण कार्यहरू अगाडि बढेको छ । मल्लरानी टुरिजम कम्पनी प्रालिले जिपलाई निर्माणको काम अघि बढाएको छ । त्यसैगरि नयाँ वर्षमा फुड फेस्टिभल सञ्चालन गरेर पर्यटन प्रवर्धनको काम गर्नेगरिएको स्थानीय डोरप्रसाद पोख्रेलले बताउनुभयो ।

मल्लरानी प्राचीन मल्लकालीन ऐतिहासिक महत्वको क्षेत्र हो । एक हजार ६ सय ५५ मिटर उचाइमा रहेको मल्लरानीबाट प्युठान जिल्लाका अधिकांश क्षेत्र, छिमेकी जिल्ला र धौलागिरि हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।