• १२ साउन २०८१, शनिबार

किसानको हैरानी

blog

फाइल तस्बिर

गलेश्वर (म्याग्दी), मङ्सिर १३ गते । जङ्गली जनावरले बाली नष्ट पार्न थालेपछि पश्चिम म्याग्दीका  विभिन्न स्थानका किसान चिन्तित भएका छन् । मालिका गाउँपालिकाको निस्कोट, देविस्थान, रुम, डाँडागाउँ र धवलागिरि गाउँपालिकाको मुना, मुदी, गुर्जालगायत गाउँका किसानले लगाएको बाली जङ्गली जनावर बँदेल, बाँदरलगायत जनावरले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् । 

घर भित्र्याउन तयारी अवस्थामा रहेको कोदोबालीलगायत बारीमा लगाएको तरकारी ठुलो सङ्ख्यामा आउने जङ्गली जनावरले नोक्सान गर्न थालेपछि किसान बालीको सुरक्षाका लागि खेतबारीमा जाग्राम बस्नु परेको मालिका गाउँपालिका-१ निस्कोटका टेकबहादुर पुनले बताउनुभयो ।

यसअघि पनि धान, मकै, कोदोलगायत खाद्यान्न बालीमा बथानका बथान आएर जङ्गली जनावरले बाली नष्ट गरेको र अहिले त्यो क्रम झन् बढेर गएको उहाँको भनाइ छ । “जङ्गली जनावरले गरिखान नदिने भए, साँझ परेपछि ठुलो सङ्ख्यामा आएका जङ्गली जनावरले खेतबारीमा डुलेर बालीनाली सकिदिन्छन्, गाउँलेलाई रातभरि सुत्नै दिँदैनन्” पुनले भन्नुभयो । 

“जङ्गली जनावरलाई भगाउन समूह बनाएर रातभर खेतबारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन मुस्किल परेको छ”, निस्कोटका युवा तपेन्द्र विकले बताउनुभयो । मालिका गाउँपालिका-३ डाँडागाउँ र वडा नम्बर २ रुममा पनि जङ्गली जनावरले सास्ती दिएको स्थानीय किसानको गुनासो छ । पछिल्लो समयमा यहाँका किसानले रातभर जाग्राम बसेर जङ्गली जनावर धपाउन बाहेक बाली जोगाउने अन्य विकल्प नरहेको बताएका छन् । 

पाकेर घरमा भित्र्याउन तयारी अवस्थामा रहेको कोदोबाली, सुन्तला, तरकारीलगायत खेतीमा बँदेलले क्षति पुर्‍याउँदा किसान निकै निराश भएका छन् । “वन फँडानी रोकिएपछि वन क्षेत्र घना हुँदै गएको छ, गाउँ खाली हुँदै गएका छन्, मानिस पनि गाउँमा कम बस्ने र जङ्गलमा जङ्गली जनावरको वृद्धि हुँदै गएपछि आहाराको खोजीमा जनावर गाउँ पस्न थालेका हुन्,” मालिका गाउँपालिका-२ रुमका जगबहादुर विकले बताउनुभयो ।

किसानको क्षतिको सम्बन्धित निकायले कुनै व्यवस्थापन नगरेको किसानको गुनासो छ । “नत जङ्गली जनावरको नियन्त्रण गर्नतिर चासो छ न त क्षतिको व्यवस्थापनमा स्थानीय सरकारले देखाएका छन्,” निस्कोट ओखलढुङ्गा गाउँका तप्तप्रसाद पुनले गुनासो गर्नुभयो । जङ्गली जनावरले बालीनाली नोक्सान गरेको निवेदन आएका तर क्षतिपूर्तिको बारेमा निर्णय नभइसकेको मालिका गाउँपालिका–१ का वडा सदस्य कौशिला पटेलले बताउनुभयो । रासस