• १२ साउन २०८१, शनिबार

मेची राजमार्गमा आज पनि यातायात बन्द

blog

बन्दका कारण इलामको जिरो किलोमिटरमा रोकिएका सवारीसाधन । तस्विर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), मंसिर १३ गते । ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधर समूहको हिजोदेखिको बन्दका कारण मेची राजमार्ग आज पनि सञ्चालन हुन सकेको छैन । 

कोशी नामविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले हिजोदेखि अनिश्चयकालीन आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सञ्चालन हुन नसकेको हो ।

बन्दका कारण मेची राजमार्गको झापा–इलाम, इलाम–फिदिम र फिदिम–ताप्लेजुङ सडक खण्डमा यातायातका साधन चल्न सकेका छैनन् । बन्दकर्ताको अवरोधका कारण झापाको बुधबार, इलामको जिरो किलोमिटरलगायतका क्षेत्रमा यातायातका साधन रोकिएका छन् । बन्दकर्ताको अवरोधका कारण पाथिभरालगायतका मन्दिरमा जाने तीर्थयात्री समेत बाटोमै अलपत्र छन् । यातायात ठप्प भए पनि अन्य क्षेत्र भने सामान्य रहेको छ । 

जिल्ला प्रहरी कार्यालय इलामले हिजो साँझ रोकिएका सवारी साधन गन्तव्यमा पुगाउन स्कटिङ सुरु गरेको थियो । आज बिहानैबाट बन्दकर्ताले फेरि ठाउँ–ठाउँमा बसेर यातायात सञ्चालनमा अवरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी बासदेव खतिवडाले यात्रु सुरक्षाका लागि आज पनि राजमार्गमा स्कटिङको व्यवस्था गरिने जानकारी दिनुभयो । 

केही दिनअघि ताप्लेजुङमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार सवारी साधनमा तोडफोड भएपछि गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जना पहिचानवादी कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्यकर्ता बिनासर्त  रिहाइको माग गर्दै राजमार्ग बन्दको घोषणा गरेको पहिचानवादीले जनाएका छन् । 

प्रहरीले पहिचान पक्षधर पाथिभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई मङ्सिर ११ गते पक्राउ गरेको थियो । आन्दोलन समूहका नेता राम लिङद्मले पक्राउ गरिएका कार्यकर्ता रिहाइ नभएसम्म सडक बन्दलगायतका कार्यक्रम लम्बिएर जाने बताउनुभयो ।