सहदेव बस्नेत
जाजरकोट, मङ्सिर ४ गते । शिवालय गाउँपालिकाले आफ्नै पालिका बस सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी बस सेवा सञ्चालनमा ल्याएको हो ।
बस सेवाको नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको थियो । कर्णाली प्रदेश ०२–००१ ख ०८५९ नम्बरको पालिका बस सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले गाउँपालिकाले आफ्ना नागरिकको सहजताका लागि बस सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।
गाउँपालिकाले ४३ लाख रुपियाँमा उक्त बस खरिद गरेको जनाएको छ । जिपमा महँगो भाडा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्नलाई पालिका बस सञ्चालनमा ल्याइएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
बस दैनिक शिवालयको टुनी बजारबाट ढिकाले, शिवालय, मोर्क हुँदै छेडा बजारसम्मको रुटमा सञ्चालन हुने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले जानकारी दिनुभएको छ । उहाँले गाउँपालिकाले अरू गाडीमा भन्दा यो गाडीमा केही प्रतिशत कम भाडादर निर्धारण गरिएको जानकारी दिनुभयो । मुनाफाभन्दा पनि सेवाको हिसाबले सञ्चालन गरेका कारण सस्तो भाडादर कायम गरिएको बस्नेतको भनाइ छ ।
गाउँपालिकाले पालिका बस सेवा सुरु गरेपछि यहाँका बासिन्दा खुसी भएका छन् पहिलो पटक पालिका बस सञ्चालन भएपछि स्थानीयले अध्यक्ष शाही र पालिकालाई धन्यवाद दिएका छन् ।