पोखरा समाचारदाता
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको बताउनुभएको छ। बैदाम तामाङ सेवा समाजद्वारा पोखरा–६ को खहरेमा निर्माण गरिएको पेमा धेछेनलिङ गुम्बाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
मुख्यमन्त्री पाण्डेले मानिस धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य शान्ति नै भएकाले शान्तिका लागि नै कर्म गर्नुपर्ने धारणा राख्नुभयो। गौतम बुद्धको शान्तिमार्गको दर्शन विश्वभर फैलिएको चर्चा गर्दै मानव कल्याणका लागि शान्ति, सद्भाव र भाइचाराको सम्बन्ध कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
विभिन्न जातजाति, धर्म संस्कृति र भाषामा धनी देश नेपालमा बुद्धको शान्ति र शिक्षाको मार्गलाई अँगाल्दै अगाडि बढ्नुको विकल्प नभएको उहाँको भनाइ थियो। “बुद्धले विश्वमा जसरी शान्तिको सन्देश फैलाए त्यसरी नै हामी सबै नेपालीले शान्तिको बाटो अँगाल्दै अगाडि बढ्नु पर्छ,” उहाँले भन्नुभयो।
“विदेशमा जसरी गौतम बुद्धको देश भनेर नेपाल चिनिएको छ त्यसरी नै हामी सबै नेपालीले लोभलालचमा नलागी चित्तशान्ति बनाउन जरुरी छ,” उहाँले अगाडि भन्नुभयो, “नयाँ पुस्तालाई आफ्नो संस्कार, संस्कृतिका साथै रीतिरिवाज हस्तान्तरण गरी सयौँ वर्षदेखि कायम रहँदै आएको सामाजिक सद्भावलाई अझ बलियो बनाउन आवश्यक छ।”
सो गुम्बामा आठ करोड आठ लाख आठ सय बुद्ध मन्त्रसहितको बुद्ध प्रतिमा निर्माण गरिएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष गौबहादुर (ज्याक) तामाङले जानकारी दिनुभयो। गुम्बा बनाउन दुई करोड ५० लाख खर्च भएको उहाँको भनाइ थियो।
पर्यटकीय क्षेत्र बैदाममा निर्माण गरिएको यस्ता गुम्बाले विदेशी तथा स्वदेशी पर्यटकको बसाइ लम्ब्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष तामाङले यसै गुम्बामा हुने बुद्ध मार्गका प्रवचनले विश्वमा शान्तिको सन्देशसमेत पुग्ने बताउनुभयो।
उक्त गुम्बामा यही महिनाको २ देखि ९ गतेसम्म प्रज्ञा पारामिता त्रिपिटक कङ्ग्युर पाठ वाचन, विश्व शान्ति पूजा, गुम्बाको प्राण प्रतिष्ठालगायतका पवित्र कार्य सुरु गरिएको छ। देश विदेशका १०८ लामा धर्मगुरुद्वारा लगातार आठ दिनसम्म कङ्ग्युर पूजापाठ गरिने जानकारी उक्त अवसरमा दिइएको थियो।