• १० मंसिर २०८१, सोमबार

पाँच वर्षमा समृद्ध नगर बन्ने छ

blog

उत्तरी मोरङको लेटाङ नगरपालिका भौगोलिक विविधताले भरिपूर्ण नगरपालिका हो । गुराँस फुल्ने डाँडादेखि साल फुल्ने समथर भूभाग रहेको लेटाङ नगरपालिकाले पर्यटन र कृषि उत्पादनका माध्यमले आर्थिक समृद्धि खोजिरहेको छ । यस नगरपालिकाका सम्भावना र चुनौतीबारे लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीसँग गोरखापत्रका हरिप्रसाद कोइरालाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

लेटाङ नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएपछि यो डेढ वर्षको अवधिमा भएका प्रमुख काम के के हुन् ? 

–हामीले सबभन्दा पहिले अघिल्लो कार्यकालमा सुरु भएर अधुरो रहेका विकास निर्माणका कामका लागि स्रोत सुनिश्चित ग¥यौँ । वडा नं. ७ वारङ्गीसँग लेटाङ बजारलाई जोड्ने भुवा खोलाको पक्की पुल निर्माण सम्पन्न भयो । वडा नं. ८ र ९ सँग लेटाङ बजारलाई जोड्ने खेरुवा खोलामा पक्की पुल निर्माण गरिएको छ । यी पुल ननेपछि वारङ्गी र जाँतेवासी लेटाङसँग बाह्रैमास सहज रूपमा जोडिएका छन् । बिरन–मेनलाइन जोड्ने सडक, गङ्गे चोकबाट जनसेवा सामुदायिक वन जाने सडक, स्वर्गद्वारी मार्ग कालोपत्रे भएको छ । किसानको उत्पादन भण्डारणका लागि शीतभण्डार निर्माण अन्तिम चरणमा पुगेको छ । सात करोड रुपियाँको यो आयोजना यसै वर्ष सम्पन्न हुने गरी काम भइरहेको छ । हामी आएपछि दुई वटा झोलुङ्गे पुल निर्माण भएका छन् । हामीले छ वटा बस्तीसँग मुख्य सडक सञ्जाल जोडेका छौँ ।  

लेटाङलाई आर्थिक रूपमा समृद्ध बनाउने तपाईंहरूका योजना के छन् ? 

– ‘समृद्ध लेटाङ, सुखी लेटाङवासी’ बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन र पर्यटन नै हो । लेटाङमा अम्रिसो (कुचो) तेजपात, सुन्तला, कफी, अलैँची र अदुवाको व्यावसायिक  उत्पादन हुन्छ । पर्यटन क्षेत्रको विकासका लागि सङ्घीय सरकारको सहयोगमा दुई वटा ठुला आयोजना निर्माणको चरणमा छन् । राजारानी पोखरीको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ भने अन्तरधार्मिक शान्ति पार्क निर्माणका लागि बोलपत्र आह्वान भएको छ । वराह मन्दिरलाई संरक्षण गरी धार्मिक पर्यटक बढाउने योजना अन्तिम चरणमा पुगेको छ । दुई हजार दुई सय मिटरको उचाइमा रहेको सुकेपोखरीमा पानी रिचार्ज गरी त्यसलाई पुनर्जीवन दिने काम भइरहेको छ । गुराँसे डाँडाको संरक्षण अभियान सुरु गरेका छौँ । लेटाङको एक सय बिघा क्षेत्रमा फैलिएको टुक्रे वनलाई पर्यापर्यटन सामुदायिक वनका रूपमा विकसित गर्ने कामको थालनी भएको छ । वडा नं. ५ मा अन्तरसांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि काम थालेका छौँ । अबको पाँच वर्षमा लेटाङ मोरङ जिल्लाकै सबैभन्दा समृद्ध नगर बन्ने छ । 

स्वास्थ्य र शिक्षाका क्षेत्रमा भएका काम र आगामी योजना के छन् ?

–हामीले प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा विकसित गरेका छौँ । साप्ताहिक रूपमा विशेषज्ञ डाक्टर र दैनिक मेडिकल अधिकृतबाट सेवा प्रवाह भइरहेको छ । १५ शय्याको अस्पताल निर्माणाधीन अवस्थामा छ । नगरमै लेटाङ भेटेरिनरी अस्पताल सुरु गरेका छौँ । विशेषज्ञ पशु चिकित्सकले सेवा दिन सुरु भएको छ । सङ्घीय सरकारको सहयोगमा शान्ति भगवती माविमा एक सय बेडको छात्रावास निर्माणाधीन छ । बालिका शैक्षिक बचत कार्यक्रम सुरु गरेका छौँ । छोरी जन्मिनेबित्तिकै उनको खातामा दुई हजार रुपियाँ जम्मा गरिदिने यो कार्यक्रम १२ कक्षामा अध्ययन गरुन्जेल वितरण गरिने छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भएको छ ।

आन्तरिक स्रोतको अवस्था कस्तो छ ?

–प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नगर हो, लेटाङ । यहाँका खोलामा ढुङ्गा, बालुवा र गिट्टीको ठेक्का लगाउने गरिएको छ । मापदण्डविपरीत खोला ठेक्का नलगाउने रणनीतिमा नगरपालिका रहेकाले आन्तरिक आम्दानी विगतको तुलनामा घटेको छ तर पनि जङ्गल क्षेत्रमा रहेको खोलाजन्य पदार्थ निकाल्ने कानुन निर्माण गरी खोला ठेक्का लगाउन सकिन्छ । लेटाङका २२/२३ वटा सामुदायिक वनले आम्दानीको १० प्रतिशत स्थानीय तहलाई दिनुपर्ने कानुनी व्यवस्था छ । ऐलानी, पर्ती जग्गामा घर बनाएर बसेका लेटाङवासीलाई पनि करको दायरामा ल्याउन सके आन्तरिक आम्दानी उल्लेख्य हुने देखिन्छ । समग्रमा भन्ने हो भने नगरको आन्तरिक स्रोत वार्षिक आठ–दस करोड रुपियाँ हुने गर्छ । 

नगरपालिकाको विकासका चुनौती के के हुन् ?

–पहिले लेटाङमा खानेपानीको समस्या जटिल थियो । त्यो समस्या समाधान भइरहेको छ । वडा नं. ३, ४, ५ र ६ बाहेक अरू वडामा पिउने पानी सुधार्नुपर्ने छ । वार्षिक एक हजार परिवार यहाँ बसाइँ आएका छन् भने सात सय परिवार गएका छन् । जाने क्रमलाई घटाउनुपर्ने छ । बालविवाहको समस्या पनि उस्तै छ । प्राकृतिक स्रोतलाई स्थिर राख्ने अर्को चुनौती हो ।   

लेटाङ नगरबाट देशभरका पालिकाले सिक्नुपर्ने केही छ ?

–हामीले चुरेमा चिउरी वृक्षरोपण कार्यक्रम सञ्चालन ग¥यौँ । १० हजार बिरुवाले उत्पादन दिन थालेपछि मौरीपालक किसानलाई फाइदा हुने छ । मौरीका लागि सबैभन्दा राम्रो चरन क्षेत्र चिउरीको जङ्गल हो । बाँदर जङ्गलमा खानेकुरा नपाएर गाउँ छिर्न थालेका छन् । हामीले चिउरी मात्र होइन, सामुदायिक वनलाई जङ्गलमा सङ्कटापन्न अवस्थामा रहेका वृक्षरोपणका लागि आग्रह गरेका छौँ । कमाउँदै रमाउँदै पढ्ने र बालिका शैक्षिक बचत कार्यव्रmम पनि अरू स्थानीय तहले अनुसरण गर्नयोग्य कार्यक्रम हुन् ।