• १३ मंसिर २०८१, बिहिबार

सिकाइ केन्द्रमार्फत पढाइ

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, मङ्सिर ४ गते । भूकम्पले विद्यालयमा क्षति पु¥याएपछि रुकुमपश्चिममा अस्थायी सिकाइ केन्द्रमार्फत अध्यापन गरिने भएको छ । दसैँ, तिहार र छठपर्वका लागि बिदा गरिएका विद्यालय सोमबारबाट खुल्दै छन् । भूकम्पले क्षति पुगेका विद्यालयमा पठनपाठनमा समस्या भएपछि अस्थायी सिकाइ केन्द्रमार्फत सिकाइ गरिने छ ।

शिक्षा समन्वय एकाइ रुकुमपश्चिमका प्रमुख ताराप्रसाद पुनका अनुसार जिल्लाका ८४ विद्यालयमा भूकम्पले क्षति गरेको छ । तीमध्ये ५२ वटा विद्यालय भवन पूर्ण रूपमा क्षति भएका छन् । भूकम्पले रुकुमपश्चिमको आठबिसकोट र चौरजहारी नगरपालिका, सानीभेरी र त्रिवेणी गाउँपालिकाका विद्यालय भवन भत्किएका छन् । ती स्थानमा सिकाइ केन्द्रमार्फत पठनपाठन गरिने छ ।

 स्थानीय तहले अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्ने विद्यालय छनोट गरिसकेकाले सोमबारदेखि अस्थायी सिकाइ केन्द्र सञ्चालनमा आउने छन् । भूकम्पले बढी क्षति गरेको आठबिसकोट नगरपालिकामा १३९ वटा र सानीभेरी गाउँपालिकामा ७२ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरिने छ । एक विद्यालयमा एकभन्दा बढी नै अस्थायी सिकाइ केन्द्र स्थापना हुने बताइन्छ । 

आठबिसकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टका अनुसार भूकम्पले क्षति गरेका नगरपालिकाभित्रका ५३ वटा विद्यालयमा १३९ वटा अस्थायी सिकाइ केन्द्र बनाइसक्न आवश्यक व्यवस्था गरिएको छ । ती विद्यालयमा ७६ वटा अस्थायी शौचालयसमेत बनाइने छ । आठबिसकोटमा २५५ वटा कक्षा कोठामा भूकम्पले क्षति गरेको छ । 

सानीभेरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भूपालसिंह विष्टले अस्थायी सिकाइ केन्द्र स्थापनाका लागि युनिसेफले पाल, म्याट र अन्य सामग्रीको व्यवस्था गरेको र टेन्ट निर्माणका लागि आवश्यक पर्ने अन्य सामग्री गाउँपालिकाले व्यवस्थापन गरेको जानकारी दिनुभयो । अस्थायी सिकाइ केन्द्रका लागि विद्यालयमा टेन्ट निर्माण गरेर पठनपाठन सुरु गरिने तयारी रहेको बताइन्छ । 

त्रिवेणी गाउँपालिकामा पनि दुई वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सुरु गर्ने तयारी गरिएको छ । चौरजहारी नगरपालिकामा सिकाइ केन्द्र स्थापना हुने बताइएको छ । भूकम्पका कारण रुकुमपश्चिममा मात्रै विद्यालय भवनमा क्षति पुग्दा साढे १२ हजार विद्यार्थी पठनपाठनबाट प्रभावित भएका छन् ।