• ७ जेठ २०८१, सोमबार

भूकम्प पीडितहरूको अस्थायी आवास निर्माण प्रक्रिया सुरु

blog

चौरजहारी नगरपालिका –६ मा भूकम्पप्रतिरोधी नमुना घर निर्माण हुँदै । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, मङ्सिर ४ गते । रुकुम पश्चिममा भूकम्प पीडित घरपरिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया सुरु भएको छ । सरकारले अस्थायी आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरेसँगै स्थलगत रूपमा क्षतिको विवरण सङ्कलन सुरु भएको छ भने प्रभावित क्षेत्रमा स्वतःस्फूर्त रूपमा पनि अस्थायी आवास निर्माणको काम सुरु भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले अस्थायी आवास निर्माणको प्रक्रिया सुरु गरिसकेको बताउनुभयो । त्यसका लागि क्षतिको वास्तविक विवरण जिल्लाका छ वटै स्थानीय तहमा माग गरिएकोले छ । वडा कार्यालय मार्फत प्राप्त विवरण स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई मङ्सिर पहिलो साताभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा आई पुग्ने छ । सोही विवरणको आधारमा अस्थायी आवास निर्माणको लागि सहयोग गरिने प्रजिअ पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित व्यक्तिहरूको तत्काल अस्थायी आवास निर्माणका लागि ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । पूर्ण क्षति भएका र आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई उक्त सहयोग गरिने प्रजिअ पन्तले बताउनुभयो । 

अस्थायी आवास निर्माणको काममा सर्वदलीय संयन्त्रमार्फत समझदारी तथा सहयोग जुटाउन र क्षतिको विवरण पठाउन पत्राचार गरिएकोले उक्त विवरण आउने बित्तिकै विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा अस्थायी आवास निर्माण खर्च पठाइनेछ । जिल्ला विपद् व्यवस्थापन समितिमा प्राप्त क्षतिको प्रारम्भिक तथ्याङ्क अनुसार रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण र नौ हजार ९६१ वटा घरमा आंशिक क्षति भएको छ । यो सङ्ख्या बढ्न सक्ने बताइएको छ । 

स्वतःस्फूर्त रूपमा बन्दै अस्थायी आवास 

रुकुम पश्चिममा स्वतःस्फूर्त रूपमा अस्थायी आवास निर्माणको काम भइरहेको छ । विकास क्षेत्रमा संलग्न युवाहरूको एक समूहले आठबिसकोट नगरपालिका –१४ ज्यामिर कोटमा १० वटा अस्थायी आवास निर्माण गरेको छ । उक्त कार्यमा संलग्न इन्जिनियर मानबहादुर शाहीका अनुसार स्थानीय स्राेत र साधनको प्रयोग गरेर १० जना मृतकको परिवारको लागि अस्थायी आवास बनाइएको हो । अब लगत्तै सानीभेरी गाउँपालिकामा सात वटा अस्थायी आवास बनाउन सुरु गरिने शाहीले बताउनुभयो । 

चौरजहारी नगरपालिका –१४ का प्रेमबहादुर घर्तीले आफैँ अस्थायी टहरा बनाएको बताउनुभयो । भूकम्पले भत्केको घर र स्थानीय स्तरमा पाइने अन्य सामाग्रीहरू प्रयोग गरेर अस्थायी आवास बनाएको घर्तीको भनाइ छ । गाउँमा अस्थायी आवास बनाउन प्रभावितहरू सक्रिय रहेको उहाँले जनाउनुभयो । 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको टोलीले पनि आठविसकोट नगरपालिका –१४ छेपारेका विजय विकको परिवारका लागि घर बनाइदिएको छ । करिब ६० हजार खर्च गरेर जस्तापाताले छाएको घर निर्माण गरिदिएको पार्टीका जिल्ला इन्चार्ज चन्द्र बुढाले बताउनुभयो । आठबिसकोट नगरपालिका –११ मा पनि आठ वटा टहरा निर्माण गरिसकेको उहाँको भनाइ छ । 

भूकम्पप्रतिरोधी नमुना घर बनाइँदै

चौरजहारी नगरपालिकामा –६ मा भूकम्प प्रतिरोधी नमुना घर बनाउन सुरु भएको छ । पूर्व नगरप्रमुख विशाल शर्माको अगुवाइमा चार वटा घर निर्माण सुरु गरिएको हो । घर बनाउन सिमेन्ट, बालुवा, माटो, ढुङ्गा, छड, जस्तापाताको प्रयोग गरिएको छ भने ५० जना स्वयंसेवक परिचालित छन् । निर्माण भइरहेका चार वटा घर एक सातामै सम्पन्न गरेर थप घर बनाउने लक्ष्य लिइएको शर्माले बताउनुभयो ।