• ६ माघ २०८१, आइतबार

तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, कात्तिक २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु भएको छ । महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको सभा हलमा आजबाट सुरु भएको सो सम्मेलनको एक कार्यक्रमवीच ओशो तपोवन नेपाल काठमाडौंका बोधीसत्य स्वामी आनन्द अरुणले उद्घाटन गर्नुभयो । 

प्रधानमन्त्री पुष्पकमल दलहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने भनिएको उक्त सम्मेलनमा प्रधाममन्त्री विशेष कारणले अनुपस्थित हुँदा स्वामी आनन्दले उदघाटन गर्नुभयो । 

कार्यक्रममा शुभकामना सन्देश पठाएर प्रधानमन्त्री प्रचण्डले विश्व स्वास्थ्यमा आयुर्वेदले आफनो छुट्टै योगदान दिन सकोस् र त्यसमा नेपालले पनि आफनो भूमिका निर्वाह गर्ने भनी सम्मेलनको सफलता दिनुभएको कार्यक्रमका आयोजक संस्थाका संयोजक डा. राकेश सिंहले जानकारी दिनुभयो । 

आजबाट सुरु भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा विश्वका १७ राष्ट्रका आयुर्वेदका विज्ञ, चिकित्सकहरुको सहभागिता रहेको डा. सिंहले बताउनुभयो । ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य संगठन तथा ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, यूक्रेन, इजरायल, भारत, भूटान, वंगलादेश, श्रीलंका, अष्ट्रेलिया, जर्मनीसहितका १७ राष्ट्रहरुको सहभागिता रहेको कार्यक्रमका अध्यक्ष डा. दिनेश सिंहले बताउनुभयो । 

माता जानकीको हजुरबुबा निमी आयुर्वेदका आँख, कान र घाँटीका विषेशज्ञ भएको कारणले आयुर्वेदमा निमितन्त्रको ठूलो महत्व भएको भन्दै जनकपुरधाममा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको छ । सम्मेलनको उद्घाटनसत्रमा प्रोफेसर माधवसिंह बधेल स्मृति सम्मानबाट पतञ्जलि योग पिठका अचार्य बालकृष्णलाई सम्मानित गर्ने आयोजकले जनाएको थियो । 

कार्यक्रममा पुर्वमन्त्री गिरिराज मणी पोखरेल, जपानका ९६ वर्षीय आयुर्वेद विज्ञ डा. हरिशंकर शर्मासहितको उपस्थिति थियो । उदघाटन पछिको दोस्रोसत्रमा  आयुर्वेदको वर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तुसहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत छलफल र परामर्श भइरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिनुभयो ।