चितवन, कात्तिक २२ गते । फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको एक सय र फूलको प्रतिकिलो पाँच सय रुपियाँ तोकेको छ ।
सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले निर्धारण गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए-नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्वलक्षित फूल खेती गरिएको छ । यसबाट दुई लाख ५० हजारदेखि तीन लाखसम्म माला तयार हुने अनुमान गरिएको छ । यहाँको बजारको माग चार लाख माला भएको उहाँको भनाइ छ ।
छिमेकी जिल्लाबाट समेत माला र फूल चितवनको बजारमा आउने गरेको छ । धादिङ, दाङलगायतका जिल्लाबाट पनि फूल र माला यहाँ आउने गरेको उहाँको भनाइ छ । साथै भारतबाट समेत फूल र माला आउने भएकाले यसलाई रोक्न पुष्प विकास केन्द्रले आयातको अनुमतिमा रोक लगाएको उहाँले बताउनुभयो । सङ्घका सचिव सुलभ श्रेष्ठले गत वर्ष जिल्लामा ३५ बिघा क्षेत्रफलमा फूल खेती गरिएकामा अहिले ५० बिघा क्षेत्रफलमा खेती गरिएको जानकारी दिनुभयो । व्यावसायिक रूपमा खेती गर्ने किसान आठ जना रहेकामा चाडपर्व विशेष खेती गर्ने किसानको सङ्ख्या भने जिल्लामा एक सय हाराहारी रहेको उहाँको भनाइ छ । प्लास्टिकजन्य फूलमालाको गुच्छा बजारमा अत्यधिक मात्रामा आइसकेको भन्दै सङ्घले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनसमक्ष माग गरिएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका–२३ मा २० बिघा जग्गामा चाडपर्वलक्षित फूल खेती गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाभित्र सो क्षेत्रफलमा फूल खेती गरिएको हो । सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार विगतका वर्षमा तरकारी खेती गरिएका ठाउँमा समेत अहिले फूल खेती गरिएको हो । कृषिमा युवालाई जोड्ने उद्देश्यका साथ फूल खेतीमा युवा परिचालन गरेर समूह बनाई काम गरिएको उहाँले बताउनुभयो । फूल खेती गर्ने किसानलाई मल, बिउ, सिँचाइको व्यवस्था वडा कार्यालयले गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कृषिलाई व्यावसायिक बनाउनका लागि हामीले फूल खेतीबाट सुरु गरेका छौँ ।”
जगतपुर कृषि फार्म प्रालिले अहिले २५ हजार बिरुवा फूल लगाएको छ । यहाँका युवा मिलेर फूल खेती गर्न लागेको प्रालिका कोषाध्यक्ष हरि आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष नौ कट्ठामा खेती गरेका थियौँ । अहिले यसलाई बढाएर ३० कट्ठा पुर्याएका छौँ ।” संस्थाका सेयर सदस्य पदमप्रसाद चालिसे युवालाई स्वरोजगार बनाउनका लागि कृषि कर्ममा लागेको बताउनुहुन्छ ।