• २३ वैशाख २०८१, आइतबार

भेडा गोठालाले पत्ता लगाए दर्जनौँ पोखरी

blog

मार्बुमा पत्ता लागेको पोखरी । तस्बिर सौजन्य: जीवन लामा

बाबुराम शर्मा

दोलखा, कात्तिक २२ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मार्बुमा भेडा गोठालाले दर्जनौँ पोखरीहरू पत्ता लगाएका छन् । वडाको माथिल्लो भेगमा मात्र साना ठुला गरी दर्जनौँ पोखरीहरू पत्ता लागेका छन् । ९-१० वर्षअघि भेडा चराउने क्रममा मार्बुको सिक्पाश्वर कोप्लाङहुँदै च्छोकुममाथि पुगेपछि पाइलैपिच्छे पोखरी भेटिएका भेडा गोठालो तेन्जी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मार्बुका अधिकांश स्थानीयको भेडा पालन व्यवसाय रहेको छ । भेडा चराउने क्रममा च्छोकुम वरिपरि पोखरी नै पोखरी भेटिएका हुन् । यस भेगमा ७÷८ वर्षसम्म भेडा चराउँदा धेरै पोखरीहरू भेटिएका छन् । च्छोकुमबाट २-३ घण्टा उकालो चढेपछि लाम पोखरी, काला पोखरी, । ४-५ घण्टा उकालो चढेपछि लभ पोखरी, जुम्ल्याहा पोखरी, भूत पोखरीलगायतका थुप्रेरै पोखरीहरू रहेका छन् । 

यस क्षेत्रमा थुप्रै पोखरीहरू भएको सुनेरै यस पटक पोखरी हेर्न जानु भएका  ध्रुव आचार्यले भन्नुभयो, लेक लाग्दा पनि नयाँ ठाउँ र नयाँ खालका पोखरीहरू गुगलमा देखेकाले त्यहाँ पुगेका हुँ । जिल्लाका अधिकांश पर्यटकीय क्षेत्रमा पुगिसकेको छु । यस पटक भने नयाँ गन्तव्य र नयाँ खालका अनुभूति पाएँ । 

यस क्षेत्रमा घुम्नका लागि सहज पदमार्ग र वासस्थानको अभावको कारण अहिलेसम्म कोही पर्यटक यहाँ पुग्न सकेका छैनन् । पोखरीको साथै यस क्षेत्रमा बहुमूल्य जडीबुटीहरू पनि रहेका छन् । यस क्षेत्रमा इन्टेकदेखि च्छोकुमसम्म पर्यटक पदमार्ग निर्माण गरिएको छ । पदमार्गको कारण यहाँसम्म बेला बेलामा आन्तरिक तथा बाह्य पर्यटकहरू जाने गरेको टासिदेले होटेल सञ्चालक तथा सिक्पाश्वर निवासी निमा शेर्पाले जानकारी दिनुभयो । 

पोखरी घुम्न जानेभन्दा पनि यस क्षेत्रबाट बेदिङ, सोलुखुम्बु आवतजावत गर्न सजिलो हुने भएकाले बाह्य पर्यटकहरू जाने गरेका छन् । यस क्षेत्रको प्रचारप्रसार र सजिलो रुट निर्माण गर्न सकेमा बाह्य पर्यटक भित्र्याउन सकिने समाजसेवी छिरिङ शेर्पाले बताउनुभयो ।